गृहपृष्ठ राष्ट्रियसभाः ‘नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक’ पारित
राष्ट्रियसभाः ‘नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक’ पारित
राष्ट्रियसभा बैठक
काठमाडौँ, २४ भदौः
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा बुधबार बसेको राष्ट्रिय सभा बैठक । तस्बिरः गोपाल दाहाल/रासस
काठमाडौं । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरे थिए । यसअघि प्रधानमन्त्री शाहका तर्फबाट कानुनमन्त्री गौतमले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री गौतमले रिक्त भएको दफालाई जगाउने व्यवस्थाका लागि विधेयक ल्याइएको बताए ।
छलफलमा भाग लिने सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभागलाई गृह वा प्रधानमन्त्री कार्यालयमा राख्ने भन्ने विषयमा आ-आफ्नो तर्क प्रस्तुत गरेका थिए । केही सदस्यहरूले गृह मन्त्रालयमातहत विभागलाई राख्नुपर्ने बताए भने केही सदस्यले प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिनुपर्ने धारणा राखे ।
सभाको आजकै बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/२०८१ र २०८१/२०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।
प्रकाशित समय : १६:२० बजे


















