गृहपृष्ठ विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढी विपद्मा दलीय राजनीतिभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न आग्रह गरेकी छन । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सङ्कटको यो घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ उभिनुपर्नेमा जोड दिइन ।
प्रमुख सचेतक ओलीले अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता रोगका बिरामीका लागि आवश्यक नियमित औषधि र विशेष स्वास्थ्य टोली खटाउन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिन ।
सांसद ओलीले भनिन, “विपद्का बेला महिला, गर्भवती, सुत्केरी तथा किशोरीहरूले भोग्नुपर्ने सरसफाइ, गोपनीयता, यौन तथा लैङ्गिक हिंसाजस्ता जोखिम न्यूनीकरणका लागि प्रजनन स्वास्थ्य र सरसफाइ सामग्रीको वितरणलाई राहत कार्यक्रममा बढी ध्यान दिनुपर्छ ।”
नेपालले भोगिरहेको वातावरणीय सङ्कटबारे अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्दा स्पष्ट रणनीति र यथार्थपरक आँकडासहित जानुपर्नेमा ओलीले जोड दिइन । संयुक्त राष्ट्रसङ्घको आगामी महासभामा नेपालको सहभागितालाई लक्षित गर्दै कूटनीति भावनामा मात्र होइन, अन्तरराष्ट्रिय कानुन, तथ्य र प्रमाणमा आधारित रणनीतिक हुनुपर्ने उनले सुझाव दिइन ।
प्रकाशित समय : १५:४८ बजे


















