गृहपृष्ठ नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितका लागि १ करोड ४१ लाखभन्दा बढी सहयोग

नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितका लागि १ करोड ४१ लाखभन्दा बढी सहयोग

नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितका लागि १ करोड ४१ लाखभन्दा बढी सहयोग

काठमाडौँ, नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ।

सङ्घका महासचिव भरतबहादुर चन्दले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक तथा भौचर हस्तान्तरण गरेका हुन्।

सङ्घका अनुसार सहयोग रकममध्ये सङ्घको सञ्जालअन्तर्गत रहेका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट ९९ लाख ७४ हजार ५०६ संकलन गरिएको थियो। त्यस्तै कर्मचारी तथा स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ संकलन भएको थियो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण प्रभावित नागरिकको दैनिक जीवन, स्वास्थ्य तथा जीविकोपार्जनमा गम्भीर असर परेको अवस्थालाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णयअनुसार उक्त रकम संकलन गरिएको सङ्घले जनाएको छ।

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित विभिन्न अस्पताल तथा आँखा उपचार केन्द्र, जिल्ला शाखा, समाजसेवी, शुभेच्छुक, कर्मचारी तथा स्वयंसेवकबाट प्राप्त व्यक्तिगत सहयोगसमेत एकीकृत गरी कोषमा जम्मा गरिएको हो।

सङ्घले आर्थिक सहयोगसँगै बाढी प्रभावित नागरिकको स्वास्थ्य आवश्यकतालाई समेत प्राथमिकतामा राखेको जनाएको छ। प्रभावित क्षेत्रमा निःशुल्क आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको सङ्घले विपद्का कारण नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई आँखा परीक्षण, उपचार तथा आवश्यक परामर्श प्रदान गरिरहेको छ।

सङ्घका अनुसार विपद्को कठिन समयमा प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा पुनःस्थापनाका लागि सरकार, नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीचको सामूहिक प्रयास आवश्यक छ।

यही भावनाअनुसार सङ्घले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्नुका साथै स्वास्थ्य सेवामार्फत प्रभावित समुदायसँग प्रत्यक्ष रूपमा जोडिने प्रयास गरेको जनाएको छ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा नेपाल सरकारबाट भइरहेको प्रयासप्रति सङ्घले ऐक्यबद्धता जनाएको बताए। उनले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग तथा स्वास्थ्य सेवा प्रवाहमार्फत सङ्घले आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने जानकारी दिए।

सङ्घका महासचिव चन्दका अनुसार सङ्घले हालसम्म पाँच करोडभन्दा बढी मानिसलाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

हाल सङ्घअन्तर्गत २८ वटा आँखा अस्पताल तथा ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्र सञ्चालनमा छन्। ती संस्थामार्फत नेपाली नागरिकसँगै विभिन्न विदेशी नागरिकलाई समेत आँखा उपचार तथा स्वास्थ्य सेवा प्रदान हुँदै आएको सङ्घले जनाएको छ।

प्रकाशित समय : १०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु