गृहपृष्ठ एसिसी प्रिमियर कपः ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’

एसिसी प्रिमियर कपः ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’

एसिसी प्रिमियर कपः ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रोपटक एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्ने तयारीमा छ ।

नेपाल समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र ओमानबीचको महत्वपूर्ण खेल बिहीबार हुनेछ । एसोसियट क्रिकेटमा यी दुई टोलीबीचको खेल बहुप्रतिक्षित मानिन्छ । विगतको निर्णायक खेलहरूमा ओमान बाधक बनेकाले यसपटक नेपालले कसरी उसको सामना गर्नेछ, त्यो हेर्नलायक हुनेछ ।

ब्याटिङमा हुनेछ नेपालको परीक्षा

जारी प्रतियोगितामा समूह चरणको समग्र प्रदर्शन हेर्दा नेपालले राम्रो गरे पनि ब्याटिङमा सङ्घर्ष जारी राख्यो । नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाली टोली सात विकेटले विजयी भयो ।

खेलमा फराकिलो जित दर्ता गरे पनि नेपालले बहराइनविरुद्ध ८८ रनको झिनो लक्ष्य पूरा गर्न ३ विकेट गुमायो । नेपालले लक्ष्य भेट्टाउन २१ ओभर खेल्नुपरेको थियो ।

दोस्रो खेलमा मलेसियाविरुद्ध पनि नेपालको ब्याटिङ सन्तोषजनक रहन सकेन । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । उक्त खेल ६ विकेटले जिते पनि ब्याटिङतर्फ नेपालको सङ्घर्ष जारी रह्यो ।

समूह चरणको तेस्रो खेलमा नेपालको भेट साउदी अरेबियाविरुद्ध भएको थियो । त्यस खेलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

बहराइन, मलेसिया र साउदी अरेबिया तुलनात्मकरूपमा नेपालभन्दा कमजोर टोली हुन् । उनीहरूविरुद्ध नै ब्याटिङमा सङ्घर्ष गरेपछि विश्लेषकले चिरपरिचित प्रतिद्वन्द्वी हङकङविरुद्ध नेपालको ब्याटिङ हेर्नलायक हुने अनुमान गरेका थिए । तर, यस खेलमा नेपाल ब्याटिङ र बलिङ दुवै पक्षमा चुक्यो ।

हङकङले दिएको २६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २ सय ४६ रनमै अलआउट भयो । नेपालका लागि यो हार सेमिफाइनलअघि ठूलो पाठ बन्ने देखिएको छ । क्रिकेट विश्लेषक रवि तिमिल्सिना पनि यसमा सहमति जनाउछ । उनको बुझाइमा साझेदारी अभावले समूह चरणमा नेपालको ब्याटिङ उत्साजनक देखिएन ।

“समूह चरणको खेल नियाल्दा हाम्रा ब्याटरबीच ठूलो साझेदारी बन्न सकेन । एकदिवसीय फम्र्याटको क्रिकेटमा जुन कुरा आवश्यक पर्छ । एउटा खेलाडी लयमा हुँदैमा खेल जित्न सकिँदैन । यसमा सबै खेलाडीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ,” विश्लेषक तिमिल्सिनाले भने, “निर्णायक खेलमा अब समूह चरणको गल्ती दोहोर्याउनुहुँदैन । ब्याटरले जिम्मेवार र उत्कृष्ट योजनाअनुसार सेमिफाइनल खेल्नुपर्छ । हाम्रा लागि ओमान र युएई विगतमा बाधक बन्दै आएका थिए । यसपालि हामीले उनीहरूविरुद्ध उत्कृष्ट खेलेर उपाधि जित्नुपर्छ ।”

बलिङतर्फ भने समूह चरणको खेलमा सन्तुष्ट हुने धेरै ठाउँ रहेको तिमिल्सिना बताउनुहुन्छ । “समूह चरणमा नेपालले बलिङमा आफ्नो प्रभाव राम्रो देखायो । विशेषगरी कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरिरहेका छन् । उनी लयमा फर्किँदा टोली बलिङतर्फ निकै अगाडि छ,” उनले भने, “हङकङसँगको खेललाई नेपालले अभ्यासमा रूपमा हेर्यो कि जस्तो लाग्छ । किनकि नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाइसकेको थियो । त्यसैले पनि कप्तान लामिछानेले अन्तितिरको बलिङमा केही नयाँ प्रयोग गर्न खोजे ।”

ब्याटिङमा सुधार गर्न सके नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा स्थान बनाउने सम्भावना धेरै रहेको तिमिल्सिनाको विश्लेषण छ ।

“सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी ओमान परेको छ । ओमानको टोलीमा धेरै नयाँ खेलाडी छन् । उनीहरू पनि ब्याटिङमा त्यति चलेका छैनन् । त्यसैले यदि बिहीबार नेपालले ब्याटिङमा सुधार गर्न सके फाइनलमा स्थान बनाउन गाह्रो छैन,” तिमिल्सिनाले भने ।

समूह चरणमा नेपाली खेलाडीको प्रदर्शन

जारी प्रतियोगिताको समूह चरणमा नेपालका लागि ब्याटिङतर्फ ईशान पाण्डे केही सफल देखिए । उनले चार खेलमा एक अर्धशतकीय पारीको मद्दतमा १५१ रन बनाएका छन । ईशानको उच्च स्कोर ९० रन हो ।

उनिपछि नेपालका लागि सर्वाधिक रनकर्ताको सूचीमा अर्जुन कुमाल छन । उनले चार खेलमा ११० रन बनाएका छन । बाँकी नेपाली ब्याटरले भने १ सय रनको आँकडा छुन सकेका छैनन् ।

बलिङतर्फ जारी एसिसी प्रिमियर कपमा कप्तान सन्दीप लामिछानेले सानदार प्रदर्शन गरिरहेका छन । उनले समूह चरणको चार खेलमा २.६० को उत्कृष्ट इकोनमी रेटमा सर्वाधिक १३ विकेट लिका छन । कप्तान लामिछाने सर्वाधिक विकेटकर्ताको सूचीको शीर्ष स्थानमा छन ।

यस्तै, जारी संस्करणको प्रिमियर कपमा अर्का स्पिनर ललितनारायण राजवंशी पनि राम्रो लयमा छन । उनले चार खेलमा ३.४६ को इकोनमी रेटमा सात विकेट लिएका छन ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु