गृहपृष्ठ प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
बेलायतको हवाई यातायात सेवामा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन् ।
बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो आफ्नो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जानकारी दिएको थियो । समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडान प्रभावित हुँदा ठूलो संख्यामा उडान ढिला भएका तथा रद्द गरिएका थिए ।
प्राविधिक समस्याको प्रभाव बेलायतका प्रमुख विमानस्थलहरूमा समेत परेको थियो । लन्डनको हिथ्रो विमानस्थल, एडिनबर्ग विमानस्थल र म्यानचेस्टर विमानस्थललगायतमा उडान सञ्चालन प्रभावित भएको उडान अनुगमनसम्बन्धी तथ्यांकले देखाएको छ ।
स्थानीय सञ्चारमाध्यमले उडान अनुगमनसम्बन्धी तथ्यांक विश्लेषण गर्दै मंगलबार रातिसम्म बेलायतका विभिन्न विमानस्थलबाट एक हजारभन्दा बढी उडान रद्द भएको जनाएका छन् ।
राष्ट्रिय हवाई यातायात सेवा संस्थाले प्राविधिक समस्या समाधान गर्न आवश्यक सुधार लागू गरिसकेको जनाएको छ । यद्यपि, प्रभावित उडानहरूको चाप व्यवस्थापन गर्न अपेक्षाभन्दा बढी समय लागेको बताइएको छ ।
संस्थाले एक विज्ञप्तिमार्फत प्रणालीमा देखिएको समस्या पूर्ण रूपमा समाधान भइसकेको र हवाई सेवा सामान्य अवस्थामा फर्किएको जनाएको छ । साथै, रद्द तथा ढिला भएका उडानका कारण सिर्जना भएको बाँकी चाप हटाउन आफूहरूले अधिकतम प्रयास गरिरहेको संस्थाले जनाएको छ ।
प्राविधिक समस्याका कारण हजारौँ यात्रु प्रभावित भएका छन् भने विमानस्थलहरूमा यात्रुको भीड र उडान पुनःतालिकीकरणको चाप बढेको छ ।
प्रकाशित समय : १३:४८ बजे


















