गृहपृष्ठ प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग
प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीका अनुसार गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा स्थानीय समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो।
बाढीका कारण ज्यान गुमाएकाहरूप्रति प्रभु इन्स्योरेन्सले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि कम्पनीले गरेको छ।
प्राकृतिक विपद्का कारण प्रभावित परिवार, स्थानीय समुदाय तथा समग्र राष्ट्रले गम्भीर पीडा र चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व भएको जनाएको छ।
कम्पनीले उपलब्ध गराएको आर्थिक सहयोगले बाढीबाट प्रभावित नागरिकले भोग्नुपरेको अपूरणीय क्षति र पीडाको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि संकटको यस घडीमा प्रभावित परिवार तथा समुदायसँगै उभिने प्रतिबद्धता, सहानुभूति र ऐक्यबद्धताको प्रतीकका रूपमा सहयोग गरिएको जनाएको छ।
प्रभु इन्स्योरेन्सले विपत्तिबाट प्रभावित नागरिकहरू एक्ला नरहेको बताउँदै राहत तथा पुनःस्थापनाको यात्रामा आवश्यक सहयोग र सहकार्यका लागि कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम तथा विपत्तिको समयमा बीमितको संरक्षण गर्दै कठिन परिस्थितिमा भरोसायोग्य साथ प्रदान गर्नु रहेको बताएका छन्।
उनले बाढीबाट प्रभावित बीमितहरूको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी ढंगले टुंग्याउने प्रतिबद्धता व्यक्त गरे।
यस कठिन परिस्थितिमा प्रभावित बीमितहरूले थप असहजता र झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको जनाएको छ। आवश्यक सहजीकरण, समन्वय तथा सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहज रूपमा सहयोग उपलब्ध गराइने कम्पनीको भनाइ छ।
कम्पनीले विपद्को समयमा बीमितलाई आवश्यक सहयोग र सेवा उपलब्ध गराउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै दाबी प्रक्रियामा प्रभावित बीमितलाई यथासम्भव सहजता प्रदान गर्ने जनाएको छ।
प्रभु इन्स्योरेन्सले उद्धार, राहत तथा पुनःस्थापनामा खटिरहेका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक तथा विभिन्न सहयोगी संघसंस्थाप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।
प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाको कार्य प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षको साझा प्रयास, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको कम्पनीले जनाएको छ।
विपत्तिबाट प्रभावित नागरिक तथा समुदायको पुनःस्थापना लामो प्रक्रिया भएकाले राज्यका निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सामाजिक संघसंस्थाबीचको सहकार्यले मात्रै त्यसलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने कम्पनीको विश्वास छ।
प्रभु इन्स्योरेन्सले आगामी दिनमा पनि प्रभावित क्षेत्र र नागरिकको आवश्यकता तथा परिस्थितिअनुसार आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित समय : १६:४२ बजे


















