global ime bank Long Banner Ad

गृहपृष्ठ पिपिएल क्रिकेट : पोखरा आठ विकेटले पराजित

पिपिएल क्रिकेट : पोखरा आठ विकेटले पराजित

पिपिएल क्रिकेट : पोखरा आठ विकेटले पराजित

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ सुरु गरेको पोखराले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२१ रनको योगफल बनाएको थियो ।

प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवल पोखराले दिएको १२२ रनको विजयी लक्ष्य १४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो ।

प्रतियोगितामा चार खेल खेलिसकेको पोखराले एक खेलमात्र जित हासिल गरेको छ भने तीनमा पराजित भएसँगै अघिल्लो चरण पुग्नका लागि थप दबाबमा आएको छ । अब पोखराले ‘प्लेअफ’ खेल्नका लागि बाँकी एक खेल जितेर मात्र पुग्दैन अरु टोलीको नतिजामा समेत भर पर्नुपर्ने बाध्यता छ ।

सुरुवाती ब्याटस्म्यान अफ्ताबुद्दिन अहमद र शंकर रानाले पहिलो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गरेपछि बुटवलले खेलमा सुखद सुरुवात गरेको थियो । आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा ‘क्याच आउट’ हुनुअघि खेलका ‘म्यान अफ दी म्याच’ अहमदले ४६ बलमा १२ चौका र दुई छक्कासहित ७५ रन जोडे ।

जितसँगै बुटवलले चितवन राइनोजसँग समान चार अंक बराबरी गरेको छ । यद्यपि चितवनले एक खेल कम खेलेको छ भने अन्य टोलीको समान दुई अंक रहेको छ । पहिलो ओभरको दोस्रो बलमा सुरुवाती ब्याटस्म्यान कशुल भुर्तेल रनको खाता नै नखोलेर बाहिरिएपछि घरेलु टोली पोखरा दबाबमा आएको थियो । भुर्तेललाई ललित भण्डारीले एलबीडब्लु आउट गरेका थिए ।

पोखराका लागि रविइन्दर सिंहले ४२ बलमा दुई चौका र दुई छक्का सहित ४५ रनमा अविजित रहदै टोलीका लागि मध्यमस्तरको लक्ष्य प्रस्तुत गरे । त्यस्तै प्रथमेश ढाके २० बलमा एक चौका र एक छक्कासहित २० रनमा अविजित रहे भने रोहित पौडेलले १८ बलमा एक चौरा एक छक्कासहित १९ रन जोडे ।

बुटवलका हर्ष टंकले आफ्नो चार ओभर बलिङमा जम्मा १० रन खर्चिएर दुई विकेट लिए भने शिवम सिंह, ललितसिंह भण्डारी र नितेश थापाले समान एक÷एक विकेट लिएका थिए । (रासस)

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु