गृहपृष्ठ म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् ।

कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका हुन् । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन ।

‘म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,’ धनप्रसादले भने, ‘पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।’

याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताए । उनका अनुसार चौँरीपालनमा तीन जनाको ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु