गृहपृष्ठ बाढीपीडितका लागि केएल दुगड ग्रुपद्धारा खाद्यान्न सहयोग
बाढीपीडितका लागि केएल दुगड ग्रुपद्धारा खाद्यान्न सहयोग
काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारका लागि केएल दुगड ग्रुपले दुई ट्रक खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको छ।
ग्रुपले पहिलो चरणमा बाढी प्रभावित परिवारका लागि चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, चिउरा, बिस्कुट तथा विभिन्न दैनिक उपभोगका खाद्य सामग्री राहतस्वरूप पठाएको छ।
उक्त राहत सामग्री विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको ग्रुपले बताएको छ।
भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीले जनजीवन प्रभावित भएपछि तत्काल आवश्यक खाद्यान्नको व्यवस्थापनका लागि राहत सामग्री पठाइएको केएल दुगड ग्रुपले बताए।
बाढी र वर्षाका कारण प्रभावित क्षेत्रमा सडक सञ्जालसमेत क्षतिग्रस्त भएकाले राहत सामग्री ढुवानीमा चुनौती देखिएको छ। यद्यपि, ग्रुपले प्रभावित क्षेत्रको आवश्यकता र सडक अवस्थाअनुसार थप राहत सामग्री चरणबद्ध रूपमा पठाउने र विपद्पछि विस्थापित तथा प्रभावित परिवारका लागि खाद्यान्नजस्ता आधारभूत आवश्यकताको व्यवस्था चुनौतीपूर्ण बन्दै गएका बेला तत्काल केही राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको ग्रुपले जनाएको छ।
ग्रुपले संकटका बेला प्रभावित परिवारसँग उभिनु आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ।
पहिलो चरणमा खाद्यान्नमा जोड
केएल दुगड ग्रुपले पहिलो चरणको राहतमा तत्काल उपभोग गर्न सकिने खाद्यान्नलाई प्राथमिकता दिएको जनाएको छ। राहत सामग्रीमा चामल, दाल, नुन, गहुँको पिठो र खाने तेलसँगै बिस्कुट, चिउरा तथा विभिन्न मसला समावेश छन्।
बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता बढिरहेका बेला निजी क्षेत्रबाट समेत खाद्यान्न तथा अत्यावश्यक सामग्रीको सहयोग आउने क्रम जारी छ।
सन् १९८९ मा स्थापित केएल दुगड ग्रुप खाद्य सामग्री, खाने तेल, सिमेन्ट तथा इलेक्ट्रोनिक्सलगायत क्षेत्रमा संलग्न औद्योगिक तथा व्यावसायिक समूह हो। ग्रुपअन्तर्गत ज्ञान, स्वास्तिक, सनफ्लो, धारा, धारा हेल्थ, मेजान, हिमालय कफी, चोकोलाटी, युनाइटेड सिमेन्ट्स, स्काइवर्थ, औरा तथा लिभप्योरलगायत ब्रान्ड रहेका छन्।
प्रकाशित समय : १८:०९ बजे

















