गृहपृष्ठ भोटेकोशी बाढीपीडितका लागि शारदा ग्रुपको १ करोड १ लाख सहयोग घोषणा

भोटेकोशी बाढीपीडितका लागि शारदा ग्रुपको १ करोड १ लाख सहयोग घोषणा

भोटेकोशी बाढीपीडितका लागि शारदा ग्रुपको १ करोड १ लाख सहयोग घोषणा

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले आर्थिक सहयोगमा मात्र सीमित नरही करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ, प्रभावित क्षेत्रमा आवश्यक अक्सिजन तथा रक्तदान कार्यक्रममार्फत पनि विपद् प्रभावितको राहत र उद्धारमा सहयोग गर्ने घोषणा गरेको छ।

शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले आइतबार अर्थमन्त्रीको कार्यालयमा पुगेर १ करोड १ लाख रुपैयाँको सहयोग हस्तान्तरण गरेका हुन्।

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोले रसुवा, धादिङ, नुवाकोटलगायत आसपासका जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याएपछि ग्रुपले राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

सहयोग रकम शारदा ग्रुपअन्तर्गतका चार कम्पनीमार्फत उपलब्ध गराइएको हो। पशुपति खाद्य तेल उद्योग प्रालिले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिले १५ लाख, प्रिमियर वायर्स प्रालिले १५ लाख र प्रिमियर डिस्टिलरी लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

आर्थिक सहयोगसँगै ग्रुपले विपद्प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्य सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ। गुड लाइफका चाउचाउ, बिस्कुट र जुसलगायत करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ सरकारमार्फत प्रभावित समुदायमा वितरणका लागि उपलब्ध गराइएको छ।

ग्रुपले राहत तथा उद्धारका क्रममा स्वास्थ्य सेवा आवश्यक पर्ने क्षेत्रलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा पनि गरेको छ।

पुनर्निर्माणमा पनि साथ

शारदा ग्रुपद्वारा प्रवर्द्धित शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै २१ लाख रुपैयाँ सहयोग गरेको छ।

त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडले बाढीपहिरोबाट प्रभावित क्षेत्रमध्ये एक गाउँको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने जनाएको छ।

विपद्पछि राहतसँगै पुनर्निर्माणको आवश्यकता बढ्दै गएका बेला सिमेन्ट सहयोगले प्रभावित बस्ती पुनःनिर्माणमा प्रत्यक्ष सहयोग पुग्ने ग्रुपको अपेक्षा छ।

काठमाडौं र विराटनगरमा रक्तदान

बाढीपहिरोमा घाइते भएकाको उपचारका क्रममा रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।

अध्यक्ष शिवरतन शारदाले विपद्मा परिवार तथा आफन्त गुमाएका सबैप्रति समवेदना व्यक्त गर्दै संकटका बेला प्रभावित नागरिकसँग उभिनु निजी क्षेत्रको पनि जिम्मेवारी भएको बताएका छन्।

‘यस दुःखद घटनामा परी आफ्ना परिवार तथा आफन्त गुमाउनुभएका सबैजनाप्रति गहिरो समवेदना व्यक्त गर्दछौं,’ उनले भने, ‘यस कठिन समयमा प्रभावितसँग उभिनु हाम्रो जिम्मेवारी पनि हो।’

उनले आर्थिक सहयोगसँगै तत्काल आवश्यक राहत सामग्री, स्वास्थ्य सहयोग तथा पुनर्निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न पहल अघि बढाइएको बताए।

भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतको काम जारी रहँदा निजी क्षेत्रबाट पनि सहयोग घोषणा हुने क्रम बढिरहेको छ। शारदा ग्रुपले भने राहतका अतिरिक्त पुनर्निर्माणमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु