गृहपृष्ठ भारतमा जारी आन्दोलनमा तीनको मृत्यु, सयौं पक्राउ
भारतमा जारी आन्दोलनमा तीनको मृत्यु, सयौं पक्राउ
भारतको संसदले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोधमा केही दिनयता जारी आन्दोलनमा तीन जनाको ज्यान गएको छ । आन्दोलनकारीमाथि प्रहरीले चलाएको गोली लागेर कर्नाटकामा दुई जना र उत्तर प्रदेशमा एक जना प्रदर्शनकारीको ज्यान गएको हो । सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।
भारतीय सञ्चारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो निर्णयका कारण अहिलेसम्मकै ठूलो विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् । सो कानुन पारित हुनुअघि नै आसाममा ठूलो विरोध सुरु भएको थियो । विरोधलाई बेवास्ता गरी सरकारले कानुन पारित गरेपछि विपक्षीको सडकमा उत्रिएका छन् ।
बिहीबार भारत सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुस नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड पनि गरेको छ ।
शुक्रबार पनि विरोध प्रदर्शन र धरपकड जारी छ भने विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको छ । भारतका केही स्थानमा कर्फ्यु नै लगाइएको छ ।
उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगन्जमा रहेको एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाएका छन् । त्यस क्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् । हाल भारतका १० वटा प्रदेशमा विरोध भइरहेको छ । अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भाग, कर्नाटका, गुजरात, तेलंगना र मध्यप्रदेशका अधिकांश नगरमा निषेधाज्ञा नै जारी गरेको छ ।
बेंग्लोरमा सरकारले कर्फ्यु नै जारी गरेको छ । प्रदर्शनकारीहरुले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो । बेंग्लोरमा बिहीबार प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएको थियो भने केही घाइते भएका छन् ।
शुक्रबार नयाँदिल्लीको लाल किल्लाबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ता पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीले जानकारी दिएका छन् ।
प्रकाशित समय : २३:१४ बजे



















