global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

काठमाडौं । अमेरिका र इरानबीच हालै भएको समझदारीपत्र (एमओयू) पछि पश्चिम एसियामा जारी तनाव अन्त्य गर्ने उद्देश्यले नयाँ चरणको वार्ताको तयारी तीव्र भएको छ । यसका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफ स्विट्जरल्यान्डतर्फ प्रस्थान गरेका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार स्विट्जरल्यान्डमा अमेरिका–इरानबीच सम्भावित आणविक सम्झौताका विषयमा पहिलो चरणको वार्ता हुने तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ जारेड कुशनर पनि वार्ताको पूर्वतयारीका लागि स्विट्जरल्यान्ड पुगिसकेका छन् ।

शुक्रबारदेखि सुरु हुने भनिएको वार्ता इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको द्वन्द्वका कारण स्थगित भएको थियो । तर पछिल्लो समय दुवै पक्षबीच युद्धविराम कायम भएपछि वार्तालाई पुनः अघि बढाउने प्रयास तीव्र भएको बताइएको छ ।

सीएनएनका अनुसार अमेरिका र कतारको मध्यस्थतामा इजरायल र हिजबुल्लाहबीच युद्धविराम पुनः लागू गर्ने सहमति भएको छ । अर्को कूटनीतिक स्रोतका अनुसार उक्त प्रक्रियामा इरानले पनि भूमिका खेलेको जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची पनि शनिबार स्विट्जरल्यान्ड पुगेर वार्तामा सहभागी हुने तयारीमा रहेको एक्सियोसले जनाएको छ । यद्यपि लेबनानको सुरक्षा अवस्था र युद्धविरामको प्रभावकारिताका आधारमा उनको भ्रमण योजना परिवर्तन हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

मध्यस्थकर्ता राष्ट्रका स्रोतहरूका अनुसार लेबनानमा युद्धविराम स्थायी रूपमा लागू हुनु इरानका लागि अत्यन्त महत्वपूर्ण विषय बनेको छ । युद्धविराम सफल भए मात्र अमेरिका–इरान वार्ता सकारात्मक दिशामा अघि बढ्ने इरानी पक्षको धारणा रहेको जनाइएको छ । यसैबीच कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी पनि स्विट्जरल्यान्ड पुगेका छन् । कतार अमेरिका र इरानबीच सम्पर्क तथा संवाद गराउने प्रमुख मध्यस्थकर्तामध्ये एक मानिन्छ ।

स्विस विदेश मन्त्रालयले अमेरिका, इरान, कतार र पाकिस्तानबीच हुने भनिएको वार्ता स्थगित भएको पुष्टि गर्दै आवश्यक तयारी भने निरन्तर जारी रहेको जनाएको छ । अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीपत्रमा लेबनानसहितका क्षेत्रमा सैन्य गतिविधि तत्काल र स्थायी रूपमा रोक्ने, ६० दिनभित्र अन्तिम सम्झौता गर्ने तथा आवश्यक परे आपसी सहमतिमा समय थप गर्न सकिने व्यवस्था गरिएको छ ।

समझदारीपत्रअनुसार अमेरिकाले इरानमाथिका केही समुद्री नाकाबन्दी तथा प्रतिबन्ध हटाउने प्रक्रिया सुरु गर्नेछ भने इरानले होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजलाई निःशुल्क सुरक्षित आवतजावतको व्यवस्था गर्नेछ । यस अवधिमा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्ता पनि सञ्चालन हुने जनाइएको छ । दस्तावेजमा चरणबद्ध रूपमा प्रतिबन्ध हटाउने, इरानका रोकिएका सम्पत्ति फुकुवा गर्ने, इरानी तेल निर्यातमा अमेरिकी छुट दिने तथा इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि अमेरिकी समर्थनमा कार्यक्रम सञ्चालन गर्ने विषय पनि समावेश गरिएको छ ।

उता कतारले पनि अमेरिका र इरानबीच संवादमार्फत बाँकी विवाद समाधान गर्न वार्ता सुरु हुनुपर्नेमा जोड दिएको छ। स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतारी प्रधानमन्त्री र स्विस विदेशमन्त्रीबीच भएको भेटवार्तामा क्षेत्रीय स्थायित्व र सुरक्षा सुदृढ गर्न कूटनीतिक प्रयासलाई निरन्तरता दिनुपर्नेमा सहमति भएको बताइएको छ । एएनआई

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु