गृहपृष्ठ रसुवा बाढीपीडितका लागि कामना सेवा विकास बैंकको २५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि कामना सेवा विकास बैंकको २५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि कामना सेवा विकास बैंकको २५ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कामना सेवा विकास बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट संकलित १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

बैंकका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो।

कामना सेवा विकास बैंकले विभिन्न विपद्बाट प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित नागरिकको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।

विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ।

प्राकृतिक विपद्को कठिन घडीमा सबै पक्षको समन्वय, सहकार्य र मानवीय सहयोगबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने भन्दै बैंकले सरोकारवाला सबैलाई सहयोगका लागि जुट्न आह्वानसमेत गरेको छ।

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु