गृहपृष्ठ बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र

बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र

बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि अभियान तीव्र बनाएको छ।

चेम्बरले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सम्बन्धित जिल्ला चेम्बरमार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन थालेको जनाएको छ। आवश्यकता पहिचानका आधारमा थप राहत सहयोग पनि निरन्तर गर्ने चेम्बरले जनाएको छ।

बाढीबाट घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक गाडी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन चेम्बरले ५० किलोसम्म सामान बोक्न सक्ने एउटा ड्रोन र निगरानीका लागि अर्को ड्रोन विदुर नगरपालिकामा पठाएको छ। त्यस्तै, १०० किलोसम्म सामान बोक्न सक्ने अर्को ड्रोन पठाउने तयारी भइरहेको चेम्बरले जनाएको छ।

चेम्बरले प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंकसमेत उपलब्ध गराएको छ। सञ्चार तथा विद्युत् आपूर्तिमा समस्या देखिएका क्षेत्रमा पावर बैंकले केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, नेपाल युथ चेम्बरले बिहीबार जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। आवश्यकताअनुसार रक्तदानलगायतका राहत कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ।

चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा वस्तुगत संघहरूलाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापनमा तत्काल सक्रिय हुन आग्रह गरेको छ।

बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै चेम्बरले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चेम्बरले प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ।

विपद्को कठिन समयमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक एकजुट भएर राहत र उद्धारमा जुट्नुपर्ने चेम्बरको भनाइ छ। तत्कालीन उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग र सहकार्य गर्ने चेम्बरले जनाएको छ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु