गृहपृष्ठ कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सहज बन्दै
कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सहज बन्दै
काठमाडौं । रोजगारी खोज्ने र जनशक्ति भर्ना गर्ने प्रक्रिया सहज बनाउन कुमारी जबले आफ्नो एआईमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (एटीएस) लाई लिंक्डइनसँग जोडेको छ ।
कम्पनीका अनुसार यो सहकार्यपछि रोजगारदाताले कुमारी जबमा दर्ता भएका १० लाखभन्दा बढी जबसिकरसँगै नेपालमा लिंक्डइन प्रयोग गरिरहेका करिब २७ लाख प्रयोगकर्तासम्म पहुँच पुर्याउन सक्नेछन् । यसबाट आवश्यक सीप र अनुभव भएका जनशक्ति खोज्न रोजगारदातालाई थप सहज हुने अपेक्षा गरिएको छ ।
कुमारी जबको एटीएसमार्फत रोजगारदाताले उम्मेदवार खोज्ने, आवेदन हेर्ने, एआईबाट प्रारम्भिक छनोट गर्ने, अन्तर्वार्ता व्यवस्थापन गर्ने र अन्तिम छनोटसम्मको प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सक्ने कम्पनीले जनाएको छ ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले रोजगारी क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएकाले जनशक्ति खोजी र छनोटमा एआईको भूमिका महत्त्वपूर्ण बन्दै गएको बताए । लिंक्डइनसँगको सहकार्यले रोजगारदातालाई आवश्यक जनशक्ति पहिचान र छनोटमा थप सहजता दिने उनको भनाइ छ ।
कम्पनीका अनुसार एआईमा आधारित रिजुमे तथा सीभी खोजी सुविधामार्फत रोजगारदाताले सीप, अनुभव, शैक्षिक योग्यता, पद र ठेगानाका आधारमा उपयुक्त उम्मेदवार खोज्न सक्नेछन् । सामान्य भाषामा आवश्यक जनशक्तिको विवरण राख्दा पनि एआईले डाटाबेसमा रहेका मिल्दोजुल्दो रिजुमे पहिचान गर्न सहयोग गर्नेछ ।
कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई र गुगल जेमिनाईजस्ता एआई प्रविधि समावेश गरेको जनाएको छ । यसले उम्मेदवारको प्रोफाइललाई सम्बन्धित जागिरको विवरणसँग तुलना गरी प्रारम्भिक छनोट गर्नुका साथै सीप, योग्यता र अनुभवका आधारमा उम्मेदवारको उपयुक्तताको संक्षिप्त विवरणसमेत तयार गर्नेछ ।
त्यस्तै, ट्यालेन्ट पुल म्यानेजमेन्ट सुविधामार्फत रोजगारदाताले उम्मेदवारका प्रोफाइल सुरक्षित, वर्गीकरण तथा ट्याग गर्न सक्नेछन् । एटीएस पाइपलाइन म्यानेजमेन्टले उम्मेदवार खोजीदेखि स्क्रिनिङ, अन्तर्वार्ता, छनोट र रोजगारीसम्मको प्रक्रिया ट्र्याक गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
कुमारी जबले एआई, व्यावसायिक नेटवर्क र डिजिटल उपकरणको प्रयोगमार्फत नेपालको रोजगारी प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ । सन् २०१४ मा स्थापना भएको कुमारी जबले रोजगारीसँगै एचआर आउटसोर्सिङ, कन्सल्टिङ तथा तालिमसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १०:४३ बजे


















