काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रसुवा बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

1.43K
shares

काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनामा जुट्न सरकारसँग आग्रह गरेको छ।

महासंघका अनुसार बाढीबाट बस्ती, बजार, सडक, पुल, सरकारी तथा निजी संरचना, व्यावसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। कतिपय नागरिक तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको भन्दै महासंघले खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आग्रह गरेको छ।

बाढीबाट प्रभावित घरेलु तथा साना उद्योग, पसल, होटल, पर्यटन व्यवसाय, कृषि तथा स्वरोजगारमा संलग्न उद्यमीको सम्पत्ति र व्यवसायमा पुगेको क्षतिको तत्काल यथार्थ विवरण संकलन गरी विशेष राहत तथा पुनर्स्थापनाको प्याकेज घोषणा गर्न पनि महासंघले माग गरेको छ।

महासंघले प्रभावित क्षेत्रमा फसेका नागरिक तथा व्यवसायीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपडा र अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।

त्यस्तै, क्षतिग्रस्त घरेलु तथा साना उद्योगको क्षति मूल्याङ्कन गरी विशेष राहत तथा पुनर्कर्जा कार्यक्रम सञ्चालन गर्न, प्रभावित उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट लिएका कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न र ब्याजमा सहुलियत दिन सरकारसँग माग गरिएको छ।

पूर्ण रूपमा क्षति भएका उद्योग तथा व्यवसाय पुनः सञ्चालनका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने महासंघको भनाइ छ। साथै, क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा खानेपानी संरचनाको आपत्कालीन मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिन पनि आग्रह गरिएको छ।

आगामी दिनमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी, त्रिशूलीलगायत नदी किनारका बस्ती तथा व्यावसायिक क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली स्थापना गर्न र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम लागू गर्नुपर्ने महासंघले जनाएको छ।

राहत तथा पुनर्स्थापनाका कार्यमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई आग्रह गरिएको छ।

विपद्को यस घडीमा प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै महासंघले सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। महासंघले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।