गृहपृष्ठ रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः०० बजेसम्म ठाउँ–ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ । उनले भने, “अहिलेसम्म १८ वटा शव भेटिएको छ । १२ वटा हातखुट्टाहरू भेटिएका छन् । अरु विवरण लिँदै छौँ ।” बाढीको बहावसँगै ती शवहरू आएको उनले बताए ।
बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन । प्रजिअ अर्यालका अनुसार चितवन यो बाढीका कारण जोखिममा परेको छैन । आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उनले शवहरू देखिएमा खबर गर्न आग्रह गरे।
नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख ई। सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीमा वहाव घट्न थालेको छ । यहाँ नौ मिटर कटेपछि खतरा मानिन्छ । छ दशमलव ८० मिटर पानीको सतह पुगेर घट्न सुरु भएको उनले जानकारी दिए । अब नदीको सतह घट्न थालेकाले खतरा टरेको उनको भनाइ छ ।
बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसैबाट सवारी रोकिएको छ । पोखरातर्फ जाने सवारीसाधनलाई पठाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताए।
नारायणी नदीमा बाढी आउन सक्ने भन्दै आज दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएका थिए । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरेको थियो ।
प्रकाशित समय : १८:१३ बजे


















