गृहपृष्ठ कोशी प्रदेशसभाः सैद्धान्तिक छलफल जारी

कोशी प्रदेशसभाः सैद्धान्तिक छलफल जारी

कोशी प्रदेशसभाः सैद्धान्तिक छलफल जारी

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य कमला दर्नाल र रमेशकुमार बस्नेतले विधेयकले लक्षित वर्ग र समूहको हक तथा अधिकार स्थापित गर्न मद्दत गर्नेछ भने । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूले सभामा शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गरे भने सो प्रतिवेदनलाई आवश्यक छलफलका निम्ति सामाजिक विकास समितिमा पठाइएको छ ।

कोशी प्रदेशसभा प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिका सभापति होमबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरे ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले)कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले भोटेकोशीमा अचानक आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले विशेष समयमा बाढीका कारण नागरिकमा पर्न गएको पीडालाई सरकारले सक्दो उद्धार, खोज र राहत लिएर उपस्थित हुनुपर्ने कुरामा जोड दिए ।

नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट सभा सदस्य केदार कार्कीले भोटेकोशीले उत्पन्न गरेको विपद्मा सरकार ठोस ढङ्गले उभिनुपर्ने बताए । उनले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र तत्काल विपद् व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, गयानन्द मण्डल गनगाँई र इस्राईल मन्सुरीले विविध पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए।

सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सभा सदस्य बाबुराम गौतमले विशेष समयमा बोल्नु हुने नेपाली कांग्रेसका कार्कीको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै घोर आपत्ति जनाएका थिए । उनले जनयुद्धमा लागेका योद्धाहरुको मानमर्दन गर्ने गरी दिएको अभिव्यक्ति तत्काल फिर्ता लिन सभामुख अम्बरबहादुरमार्फत सदस्य कार्कीको ध्यानाकर्षण गराउका थिए ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु