काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खाद्य सुरक्षामा तत्काल कदम चाल्न भारतको आग्रह

2.1K
shares

द्वन्द्वका कारण ऊर्जा, मल, समुद्री यातायात र कृषि व्यापारमा भइरहेको अवरोधले विश्वव्यापी खाद्य सुरक्षामा जोखिम बढाएको भन्दै भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई मानवीय असर न्यूनीकरणका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

सुरक्षा परिषद्को खुला बहसमा भारतका स्थायी प्रतिनिधि पी हरिशले द्वन्द्वको प्रभाव युद्धस्थलमा मात्र सीमित नरहेको बताए । ऊर्जा बजार, मल आपूर्ति, समुद्री यातायात तथा कृषि व्यापारमा अवरोध हुँदा क्षेत्रीय द्वन्द्वले विश्वव्यापी खाद्य सङ्कट निम्त्याउन सक्ने उनले बताए ।

उच्च आयातमा निर्भर विकासोन्मुख मुलुकले यसको बढी भार बोक्नुपरेको उल्लेख गर्दै उनले सुरक्षित, द्रुत र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न तथा द्वन्द्व समाधानका प्रयासलाई समर्थन गर्न सुरक्षा परिषद्सँग आग्रह गरे । परिषद्का प्रतिबन्धले मानवीय सहायता तथा वैध खाद्य र कृषि व्यापारमा अनावश्यक अवरोध पुर्‍याउन नहुने उनको भनाइ थियो ।

हरिशले भारतले खाद्य सुरक्षाका लागि सञ्चालन गरेका कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय खाद्य सुरक्षा ऐन तथा प्रधानमन्त्री–किसान कार्यक्रमले करोडौँ कृषक परिवारको आर्थिक उत्थानमा सहयोग पुर्‍याएको बताए । जलवायु अनुकूल कृषि र डिजिटल पूर्वाधारले भारतलाई विश्व खाद्य आपूर्तिमा योगदान गर्न सक्षम बनाएको उनले उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृष्ण सागर, हर्मुजको जलघाँटी र लाल सागरलाई विश्व खाद्य आपूर्तिका प्रमुख जोखिम क्षेत्रका रूपमा उल्लेख गरे । युक्रेन युद्धले अन्न तथा ऊर्जा निर्यात प्रभावित भएको र हर्मुज तथा लाल सागरको अवरोधले वस्तुको मूल्य तथा आपूर्ति शृङ्खलामा असर पारेको उनले बताए ।

हर्मुजमा मल र खाद्यान्नको सुरक्षित प्रवाहका लागि संयुक्त राष्ट्रसङ्घले संरक्षित मार्गसम्बन्धी पहल अघि सारेको जानकारी दिँदै गुटेरेसले सम्बन्धित पक्षलाई सहयोग र राजनीतिक इच्छाशक्तिका साथ सहभागी हुन आग्रह गरे ।

विश्व खाद्य कार्यक्रमका कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउले समुद्री व्यापारमा गम्भीर अवरोध आए लाखौँ मानिस खाद्य असुरक्षामा धकेलिन सक्ने चेतावनी दिए ।