गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न
प्रभु महालक्ष्मी लाइफको क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘चेयरम्यान क्लब तथा सीईओ क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।
पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा देशभरबाट कम्पनीका सञ्चालक, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेकी थिइन्। उनले अभिकर्ता पेशालाई मर्यादित र सम्मानित पेशाका रूपमा अघि बढाउँदै उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई गरिएको सम्मानले थप उत्साह प्रदान गर्ने बताइन्।
कम्पनीले आगामी दिनमा पनि अभिकर्ताको व्यवसायिक यात्रामा साथ र सहयोग जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।
प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले लगनशीलता र निरन्तरताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताए। अभिकर्ताको सफलतालाई उत्सवका रूपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गौरवको विषय भएको उनको भनाइ थियो।
उनले टिमवर्कबाट मात्रै दीर्घकालीन सफलता सम्भव हुने भन्दै आगामी वर्ष अझ ठूलो उपलब्धि हासिल गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धिका साथै व्यवसायमा थप ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कम्पनीको उच्च तहको चेयरम्यान क्लब तथा दोस्रो उच्च तहको सीईओ क्लब अवार्ड प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली चलचित्रका अभिनेता, मोडल तथा निर्माता प्रदीप खड्काको समेत विशेष उपस्थिति थियो। उनले आफ्नो संघर्ष र सफलताको वास्तविक जीवनकथा प्रस्तुत गर्दै सहभागी अभिकर्तालाई प्रेरित गरेका थिए।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा तथा सम्मानका लागि विभिन्न प्रशिक्षण, मोटिभेसनल, रिफ्रेसमेन्ट र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
प्रकाशित समय : ०७:४९ बजे


















