गृहपृष्ठ स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

स्वीस सरकारबाट नेपालको ‘टिभेट’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच नेपालको शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा नेपाल/स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो ।

भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी ऐन अहिले छलफलको क्रममा रहेको जानकारी दिँदै टिभेट क्षेत्रमा सुशासनसहित सुधारका लागि सबै सरोकार भएका निकायसँग निरन्तर छलफल गरेर अघि बढ्ने बताए । टिभेट क्षेत्रको व्यवस्थापन र सुशासनमा सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि जोड दिइने भन्दै उनले यसका लागि स्वीस सरकारसँग थप सहकार्यको आवश्यकता औँल्याए ।

कार्यवाहक राजदूत मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा स्विस सरकारले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबीच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरे ।

नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण तुलनात्मक रूपमा प्रभावकारी रहेका उल्लेख गर्दै उनले यससम्बन्धी तथ्याङ्कसमेत आफूसँग उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु