गृहपृष्ठ म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी । गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रकाअनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोडको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो ।

केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिकटन आलु प्रतिकिलो न्यूनतम ३५ का दरले बिक्री हुँदा ६० करोडको कारोबार भएको जानकारी दिए ।

उनका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिक टन सुन्तला प्रतिकिलो रु ८० का दरले ३३ करोड ४६ लाख ७० हजारमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।

म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाडौँ र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग कीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताए ।

आव २०८०/८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिक टन आलु र २४ करोड बराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्ली लगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन् ।

सवारी साधनको पहुँच पुगेपछि गाउँ गाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जिल्लामा आलु र सुन्तला खेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।

गत आर्थिक वर्षमा केन्द्रको ४७ लाख १४ हजार सहयोगमा ४२ वटा फार्म तथा समूहमा आबद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिइन् ।

खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रीकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि रु छ लाख र सुदृढीकरणका लागि १९ लाख ८० हजार बजेट प्राप्त भएको छ । जिल्लामा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।

यस वर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि १६ लाख ६८ हजार बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिए ।

प्रकाशित समय : ०५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु