विराटनगरमा भू–सेवा सञ्चालन गर्ने तयारी
वि.सं.२०८३ कात्तिक २८ शनिवार ०५:४५
shares

मोरङ । विराटनगर महानगरपालिकाले आफ्नो १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनको तयारीमा लागेको छ । यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ ।
विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो । नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषदबाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको हो । लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने भएको हो ।
महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्याङ्क फाइल र तथ्याङ्कक भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजात नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ ।
भू–उपयोग वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउने तथा अन्य घरजग्गासम्बन्धी कामले अब सहजता पाउने विश्वास गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए । महानगर प्रमुख कोइरालाका अनुसार आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी तीव्र पारिएको बताए ।
उनका अनुसार भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्नेछ । सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने महानगरको योजना रहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको र त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको बताए । उनका अनुसार भू–सेवा प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन, सेवा प्रवाह र प्रशासनिक प्रक्रियामा सहजता आउनेछ ।

























