काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

1.83K
shares

भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षको अवधिमा जिल्लाबाट २४ हजार ५ सय ३५ जनाले राहदानीका लागि आवेदन दिएका छन् ।

राहदानी सिफारिस तथा वितरणबाट मात्रै कार्यालयले ९ करोड ४६ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार २०८२ साउन १ देखि २०८३ असार मसान्तसम्म प्राप्त आवेदनमध्ये जिल्ला प्रशासन कार्यालयबाट १७ हजार १ सय २३ र इलाका प्रशासन कार्यालय बुटवलबाट ७ हजार ४ सय १२ वटा आवेदन परेका हुन् ।

सो अवधिमा २२ हजार ३ सय ४७ वटा राहदानी प्राप्त भएकोमा २० हजार ९ सय ५० वटा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त १४ हजार ९ सय ३५ राहदानीमध्ये १४ हजार ६ सय ९४ वटा वितरण भएका छन् । बुटवलबाट प्राप्त ७ हजार ४ सय १२ मध्ये ६ हजार २ सय ५४ वटा वितरण गरिएको तथ्यांक छ ।

आवेदनको तुलनामा प्राप्त राहदानी कम हुनु र प्राप्त राहदानीको तुलनामा वितरण संख्या पनि केही कम हुनुका कारण प्रक्रियामा रहेका तथा वितरणका लागि बाँकी राहदानी रहेको देखिन्छ । यसले राहदानी सेवामा नागरिकको निरन्तर चाप रहेको संकेत गरेको सूचना अधिकारी पाध्याको भनाई छ ।

रुपन्देहीमा राहदानीसँगै नागरिकता र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह पनि ठूलो परिमाणमा भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा इलाका प्रशासन कार्यालय बुटवल, मझगवाँ र मानपकडीबाट गरी एक वर्षमा २५ हजार ८ सय ७३ जनाले वंशजका आधारमा नयाँ नागरिकता लिएका छन् । यसै अवधिमा २२ हजार २६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ ।

राष्ट्रिय परिचयपत्रतर्फ भने जिल्लामा १ लाख १ हजार ४ सय १ जनाको विवरण दर्ता गरिएको छ । पछिल्ला वर्षमा राज्यका विभिन्न सेवा र डिजिटल पहिचानसँग राष्ट्रिय परिचयपत्र जोडिँदै गएपछि यसको विवरण दर्ता पनि तीव्र भएको प्रशासनको तथ्यांकले देखाउँछ ।

स्थानीय प्रशासनमा आउने गुनासा तथा विवाद समाधानतर्फ पनि कार्यालयले उल्लेख्य प्रगति गरेको छ । मिटरब्याज सम्बन्धी २४७ निवेदनमध्ये १५७ वटा फछ्र्योट भएका छन् । वैदेशिक रोजगारीसम्बन्धी १७३ वटै उजुरी फछ्र्योट गरिएको छ । त्यसैगरी ‘हेलो सरकार’बाट प्राप्त १६५ तथा नागरिक स्तरबाट प्राप्त ३९१ वटै गुनासा फछ्र्योट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पाध्याले जानकारी दिए ।

बजेट कार्यान्वयनतर्फ पनि कार्यालयले उच्च प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा चालुतर्फ ९३.५४ प्रतिशत र पुँजीगततर्फ ९८.८३ प्रतिशत बजेट खर्च भएको छ ।

विभिन्न प्रशासनिक सेवा, संस्था नवीकरण, दण्ड–जरिवाना तथा राहदानी शुल्क लगायतबाट कार्यालयले एक वर्षमा कुल ९ करोड ९६ लाख ६ हजार ४ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको छ । कुल राजस्वमध्ये राहदानी सेवाबाट मात्रै ९ करोड ४६ लाखभन्दा बढी उठ्नुले रुपन्देहीमा राहदानी सेवा प्रशासनको राजस्व संकलनको प्रमुख स्रोत बनेको देखाएको छ ।

समग्र तथ्यांकले रुपन्देहीमा नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानीजस्ता नागरिक सेवाको माग उच्च रहेको देखाउँछ । विशेषगरी एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन पर्नुले वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको संकेत गर्छ ।

बढ्दो सेवाग्राही चापलाई ध्यानमा राख्दै प्रशासनिक सेवा थप सहज, छरितो र प्रविधिमैत्री बनाईएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको भनाई छ ।