गृहपृष्ठ परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड
परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड
काठमाडौँ । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयन र समसामयिक सुधारमा सरोकारवालाले जोड दिएको छन् ।
नेपाल कानुन समाज र संविधान निगरानी समूहले आज संयुक्त रुपमा आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा उनिहरुले नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति, आर्थिक सबलता र छिमेकी राष्ट्रको बढ्दो सामरिक प्रभावकाबीच परराष्ट्र नीतिलाई थप सन्तुलित र परिणाममुखी बनाउनुपर्ने औँल्याए ।
नेपालको संविधानले निर्दिष्ट गरेबमोजिम देशको भौगोलिक अवस्थिति, आर्थिक सामाजिक तथा सांस्कृतिक परिवेशका आधारमा नेपालले सदा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको उनिहरुको भनाइ थियो ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदासले असंलग्नता नै नेपालको परराष्ट्र नीतिको मुख्य आधार भएकाले छिमेकीसँग सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताए।
नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आन्तरिक एकता सुदृढ गर्दै परराष्ट्र मामलामा स्वतन्त्र निर्णय गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा राजन भट्टराईले नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा छिमेकीसँग सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
पूर्वमुख्यसचिव शङ्करदास बैरागीले ‘नेपालको परराष्ट्र नीतिः चुनौती, अभ्यास र आगामी मार्गदर्शन’ विषयमा कार्यपत्र प्रस्ततु गर्दै परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई एकापसमा परिपूरक हुने गरी एकीकृत ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
अर्का पूर्वमुख्यसचिव लीलामणि पौड्यालले अन्तरराष्ट्रिय जगतसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रहितको पक्षमा कायम गर्दै मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनुपर्ने बताए । पूर्वमुख्यसचिव एकनारायण अर्यालले राष्ट्रको महत्वपूर्ण विषय भएकाले व्यक्ति र दल विशेषका आधारमा नभई परराष्ट्र नीतिका विषयमा छलफल गर्न विशिष्ट खालको संरचना आवश्यक भएको बताए ।
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले देशको परराष्ट्र नीति दल विशेषको नभई अन्तरराष्ट्रिय सम्बन्धका आधारमा स्वतन्त्र र सन्तुलित बनाइनुपर्ने बताए ।
नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विश्व शान्ति, आर्थिक विकास र क्षेत्रीय सौहार्दतामा नेपालले जोड दिँदै आएको भए पनि राजनीतिक परिवर्तनसँगै यसका मान्यतामा केही रूपान्तरण भएको बताए ।
प्रकाशित समय : १७:५९ बजे


















