गृहपृष्ठ सुदूरपश्चिमको औद्योगिक आशा अन्योलमा, दैजी औद्योगिक क्षेत्रको काम अघि बढेन

सुदूरपश्चिमको औद्योगिक आशा अन्योलमा, दैजी औद्योगिक क्षेत्रको काम अघि बढेन

सुदूरपश्चिमको औद्योगिक आशा अन्योलमा, दैजी औद्योगिक क्षेत्रको काम अघि बढेन

महेन्द्रनगर — सुदूरपश्चिममा औद्योगिक विकासको आधार बन्ने अपेक्षा गरिएको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै अन्योलमा छ । पाँच वर्षअघि शिलान्यास गरिएको आयोजनाको काम रूख कटान र जग्गा भोगाधिकारसम्बन्धी फाइल मन्त्रालय र विभागमै अल्झिएको छ ।

२०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बेदकोट नगरपालिका–२ मा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । शिलान्यासपछि औद्योगिक क्षेत्र निर्माणले गति लिने अपेक्षा गरिए पनि अहिलेसम्म मुख्य पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन ।

२०७९ फागुनमा बेदकोट–२ मा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना गरिएको थियो । तर कार्यालय कर्मचारीविहीन छ । दैजी–छेला औद्योगिक क्षेत्रको काम नेपालगन्जस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको शाखा कार्यालयमार्फत हेर्ने गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार लगातार दुई आर्थिक वर्षदेखि आयोजनाका लागि संघीय सरकारबाट बजेट आएको छैन । चालु आर्थिक वर्षमा औद्योगिक क्षेत्र बाहिरको पहुँचमार्गका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन भए पनि औद्योगिक क्षेत्र स्थापनाका लागि भने बजेट छुट्याइएको छैन ।

‘रूख कटान, जग्गा प्रयोगलगायत कामका लागि आन्तरिक बजेटमा रकम छ,’ सोडारीले भने, ‘तर आयोजनाको मुख्य काम अघि बढ्न वन तथा जग्गा भोगाधिकारसम्बन्धी प्रक्रिया टुंगिन आवश्यक छ ।’

औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्तावित वन क्षेत्रमा रूख कटानको अनुमति र जग्गा भोगाधिकारसम्बन्धी फाइल लामो समयदेखि प्रक्रियामा छ । वन कार्यालयले रायसहित फाइल माथिल्लो निकायमा पठाए पनि स्वीकृति प्रक्रिया पूरा हुन सकेको छैन ।

सोडारीका अनुसार वन मन्त्रालयबाट मन्त्रिपरिषद्मा पठाउनुपर्ने फाइल केही विषयमा पुनः विभाग हुँदै सम्बन्धित निकायमा फर्किएको थियो । आवश्यक कागजात र वैकल्पिक वनसम्बन्धी विषयमा पुनः पत्राचार गरी फाइल अघि बढाइएको उनले बताए ।

दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले पनि संघीय सरकारबाट आयोजनाका लागि ठूलो बजेट नआएको बताए । ‘प्रक्रियागत कारणले नै काम ढिलो भएको हो,’ उनले भने, ‘माथिल्लो निकायबाट फाइल स्वीकृत भएपछि फिल्डमा काम सुरु गर्ने अवस्था बन्छ ।’

उनका अनुसार वृक्षरोपण तथा जग्गा प्रयोगबापतको शुल्कका लागि करिब ८० लाख रुपैयाँ बजेट रहेको छ । तर पूर्वाधार निर्माणका लागि आवश्यक ठूलो बजेट भने उपलब्ध छैन ।

कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव २०५२ सालमै अघि बढेको थियो । सुरुमा ३४५ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गरिए पनि पछि १३६.५९ हेक्टर अर्थात् करिब २०२ बिघामा सीमित गरिएको हो ।

बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने गरी सरकारले २०७२ सालमा चार किल्ला निर्धारण गरेको थियो । लामो समयदेखि स्थानीयवासी र निजी क्षेत्रले औद्योगिक क्षेत्र निर्माणको माग गर्दै आए पनि आयोजना अझै कागजी प्रक्रियामै सीमित छ ।

बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले औद्योगिक क्षेत्र निर्माणको काम अन्योलमा परेको बताए । ‘रूख कटानका लागि पेस गरिएको फाइल नै फिर्ता भएको भन्ने सुनेका छौं,’ उनले भने, ‘सबैको आशा जोडिएको आयोजनामा माथिल्लो तहबाटै चासो नदिँदा निराशा बढेको छ ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले भने औद्योगिक क्षेत्र निर्माणमा थप ढिलाइ गर्न नहुने बताए । शिलान्यास भएको वर्षौं बितिसक्दा पनि सरकारी प्रक्रियाकै कारण आयोजना अघि नबढ्नु दुःखद् भएको उनको भनाइ छ ।

‘औद्योगिक क्षेत्र बने यहाँको उत्पादन, व्यापार र रोजगारी विस्तारमा ठूलो टेवा पुग्छ,’ मल्लले भने, ‘दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु भइसकेको अवस्थामा दैजी औद्योगिक क्षेत्र पनि तत्काल अघि बढाउनुपर्छ ।’

उनका अनुसार औद्योगिक क्षेत्र सञ्चालनमा आए कञ्चनपुरलाई सुदूरपश्चिमकै औद्योगिक तथा आर्थिक केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्नेछ । ‘यस्तो महत्वपूर्ण आयोजना दलीय चुनावी एजेन्डामा मात्र सीमित हुनु हुँदैन,’ उनले भने, ‘सरकारले प्रक्रियागत अवरोध हटाएर निर्माणको काम तत्काल सुरु गर्नुपर्छ ।’

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु