गृहपृष्ठ सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन
सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन
खोटाङ । वर्षायाममा ग्रामीण सडक बिग्रिएर यातायात अवरुद्ध हुने समस्या न्यूनीकरण गर्न हलेसी तुवाचुङ नगरपालिकाले नयाँ अभ्यास थालेको छ । नगरपालिकाले मेसिन प्रयोगको विकल्पमा २६ जना सडक हेरालु परिचालन गरी ग्रामीण सडकको नियमित मर्मत तथा सम्भार थालेको हो ।
नगरपालिकाका अनुसार विगतमा सडक मर्मतका लागि स्काभेटर तथा जेसिबी प्रयोग हुँदै आएको थियो । त्यसका लागि नगरपालिका र वडा कार्यालयले वार्षिक करिब एक करोड रुपैयाँ खर्च गर्दै आएका थिए । तर मेसिनले एकपटक मर्मत गरेका सडक वर्षा र भलबाढीपछि पुनः बिग्रिने समस्या दोहोरिएपछि मानवीय जनशक्ति परिचालन गर्ने नीति लिइएको हो ।
नगरपालिकाले एक जनालाई मासिक २१ हजार रुपैयाँ पारिश्रमिक दिने गरी पहिलो चरणमा तीन महिनाका लागि २६ जना सडक हेरालु नियुक्त गरेको छ । उनीहरूको मुख्य जिम्मेवारी सडकको नियमित रेखदेख गर्ने, जोखिमयुक्त स्थान पहिचान गर्ने, नाली सफा गर्ने, खाल्डाखुल्डी पुर्ने तथा सडकमा क्षति पुगे तत्काल मर्मत गर्ने रहेको छ । आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउने जिम्मेवारीसमेत हेरालुलाई दिइएको छ ।
सडक आसपास बसोबास गर्ने तथा आर्थिक रूपमा विपन्न परिवारका व्यक्तिलाई प्राथमिकता दिँदै वडाको सिफारिसका आधारमा हेरालु छनोट गरिएको नगरप्रमुख विमला राईले बताइन् ।
‘विगतमा सडक मर्मतमा मेसिन प्रयोग गर्दा ठूलो रकम खर्च भयो । तर त्यसले दीर्घकालीन समाधान दिन सकेन,’ राईले भनिन्, ‘सडक हेरालुको काम प्रभावकारी देखिए संख्या थपेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ ।’
भौगोलिक क्षेत्रफलका आधारमा बाहुनीडाँडा, डिकुवा, दुर्छिम र राजापानीमा तीन–तीन जना तथा अन्य सात वडामा दुई–दुई जना सडक हेरालु परिचालन गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सडक हेरालु नियुक्त गरी परिचालन गर्ने प्रस्ताव पारित गरेको थियो ।
अविरल वर्षाका कारण खोटाङका अधिकांश ग्रामीण सडकमा यातायात सेवा प्रभावित भइरहेका बेला हलेसी तुवाचुङ नगरपालिकाका सबै वडामा भने सडक हेरालु परिचालनपछि यातायात सहज भएको स्थानीयको भनाइ छ ।
जिल्लाका अन्य स्थानीय तहले समेत ग्रामीण सडक मर्मतका लागि हरेक वर्ष करोडौँ रुपैयाँ खर्च गर्दै आएका छन् । तर मेसिन प्रयोग गरेर मर्मत गरिएका सडक वर्षायाममा भलबाढीले पुनः क्षतिग्रस्त हुने समस्या दोहोरिँदै आएको स्थानीय बताउँछन् । हलेसी तुवाचुङको सडक हेरालु अभ्यासले भने नियमित र सानो क्षतिमै मर्मत गरेर सडकलाई बाह्रै महिना सञ्चालनमा राख्न सकिने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १५:२० बजे

















