गृहपृष्ठ राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्रे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्रे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्रे

दाङ। दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

विसं २०७४ देखि निर्माण सुरु गरिएको भए पनि सुरुका वर्षमा बजेट अभावका कारण कामले गति लिन सकेको थिएन । दोस्रो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले चक्रपथ निर्माणलाई प्राथमिकता दिएको र तीनै तहका सरकारले बजेट विनियोजन गरेपछि आयोजनाले गति लिएको हो ।

इन्जिनियर अशोक बेल्वासेका अनुसार हालसम्म गाउँपालिकाले रु २० करोड, सङ्घीय सरकारले रु आठ करोड र लुम्बिनी प्रदेश सरकारले रु एक करोड गरी कुल रु २९ करोड खर्च भइसकेको छ ।

उनका अनुसार चालु आर्थिक वर्षमा पनि तीनै तहका सरकारले सो आयोजनाका लागि बजेट विनियोजन गरेका छन् । जसअनुसार गाउँपालिकाबाट रु एक करोड ६० लाख, सङ्घीय सरकारबाट रु तीन करोड र लुम्बिनी प्रदेश सरकारबाट रु ३० लाख विनियोजन भएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गरिएको चक्रपथको राप्ती गाउँपालिका–६ मजेरियादेखि वडा नं २ कोखुलियासम्मको सडक कालोपत्रे सम्पन्न भएको छ । दक्षिणतर्फको सडक स्तरोन्नतिको काम पनि भइरहेको छ ।

चक्रपथको दक्षिणतर्फ लमही नगरपालिका–१ सुनपुर, पूर्वतर्फ पाखापानी र उत्तरतर्फ सिङ्गोनालाई आधार बनाएर सडक निर्माणको काम भइरहेको छ । यस वर्ष उत्तरतर्फबाट पनि काम अघि बढाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

उनले राप्ती चक्रपथ गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको बताउँदै निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात र आर्थिक गतिविधिमा थप सहजता आउने विश्वास व्यक्त गरे।

प्रकाशित समय : ०५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु