गृहपृष्ठ रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु
रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु
युक्रेनी अधिकारीले रातभर किएभ र आसपासका क्षेत्रमा रुसले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बुधबार बताएका छन्।
युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम, रसद केन्द्र, व्यावसायिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढी क्षति किएभ क्षेत्रमा भएको र त्यहाँ १६ जनाको मृत्यु तथा ३० जना घाइते भएको विभागले जनाएको छ।
किएभ क्षेत्रीय सैन्य प्रशासनका अनुसार ब्रोभरी जिल्लामा मात्रै नौ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। यता, किएभका मेयर भिताली क्लिट्स्कोले राजधानीमा एक जनाको मृत्यु र २६ जना घाइते भएको जानकारी दिनुभएको छ ।
युक्रेनी वायुसेनाका अनुसार रुसले रातभर ११५ वटा ड्रोन, २४ वटा इस्कान्डर–एम÷एस–४०० ब्यालिस्टिक क्षेप्यास्त्र तथा चारवटा जिरकोन÷ओनिक्स जहाजविरोधी क्षेप्यास्त्र प्रहार गरेको थियो।
रुसको रक्षा मन्त्रालयले भने किएभ र आसपासका क्षेत्रमा रहेका यातायात तथा रसद पूर्वाधारलाई लक्षित गरी ठूलो स्तरको आक्रमण गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार आक्रमणमा ड्रोनका पार्टपुर्जा, रोबोटिक प्रणाली, विद्युतीय युद्ध उपकरण तथा अन्य सैन्य सामग्री भण्डारण र वितरण गर्ने केन्द्रलाई निशाना बनाइएको थियो।
रुसी रक्षा मन्त्रालयले ओडेसाको दक्षिणी क्षेत्रमा कालो सागरमा रहेका सैन्य सामग्री बोकेका युक्रेनका तीनवटा सुक्खा मालवाहक जहाजमा प्रहार गरिएको तथा ओचाकिभको दक्षिणपूर्वी क्षेत्रमा दुईवटा मानवरहित जलयान नष्ट गरिएको पनि दाबी गरेको छ।रासस
प्रकाशित समय : २१:२९ बजे


















