गृहपृष्ठ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने
अष्ट्रेलियाली कम लागतको वायुसेवा कम्पनी जेटस्टारले आगामी फेब्रुअरी २०२७ देखि विमानको ओभरहेड लकर ९सिटमाथिको सामान राख्ने ठाउँ०मा क्यारी–अन झोला राखेबापत यात्रुबाट शुल्क लिने भएको छ।
कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यात्रु र कर्मचारीले गेटमा झोलाको तौल जाँच गराउनु तथा ओभरहेड लकरमा ठाउँ खोज्नुपर्ने अवस्थालाई विमानस्थल अनुभवको सबैभन्दा तनावपूर्ण पक्षका रूपमा औँल्याएपछि यो निर्णय गरिएको हो।
यससँगै जेटस्टार क्यारी–अन झोला ओभरहेड लकरमा राख्न शुल्क लिने पछिल्लो कम लागतको एयरलाइन बनेको छ। अमेरिका र युरोपका धेरै बजेट एयरलाइनले यसअघि नै यस्तो व्यवस्था लागू गरिसकेका छन्।
जेटस्टारका अनुसार तोकिएको मापदण्डभित्र पर्ने पर्स, ल्यापटप झोला वा सानो ब्याकप्याक भने यात्रुले आफ्नै अगाडिको सिटमुनि निःशुल्क राख्न सक्नेछन्। ओभरहेड लकर प्रयोग गरेबापत लाग्ने शुल्क एकतर्फी यात्राका लागि २५ अष्ट्रेलियाली डलर (१८ अमेरिकी डलर०बाट सुरु हुनेछ भने गन्तव्यअनुसार फरक पर्नेछ।
ओभरहेड लकरमा राखिने झोलाको अधिकतम तौल १० किलोग्राम हुनेछ। बोर्डिङका क्रममा कर्मचारीले ती झोलाको तौल जाँच गर्ने छैनन्। सिटमुनि राखिने साना झोलामा हाल कायम रहेको सात किलोग्रामको तौल सीमा भने हटाइने कम्पनीले जनाएको छ।
अष्ट्रेलिया र न्युजिल्यान्डका अधिकांश एयरलाइनले चेक्ड लगेज, सिट छनोट तथा खाना–पेयजस्ता अतिरिक्त सेवाका लागि शुल्क लिँदै आएका छन् । तर उद्योग विश्लेषकका अनुसार ओभरहेड लकर प्रयोगबापत शुल्क लिने जेटस्टार पहिलो एयरलाइन हो।
‘एयरलाइन रेटिङ्स डट कम’की प्रमुख कार्यकारी अधिकृत शेरोन पिटरसनले यस निर्णयले केही यात्रुमा असन्तुष्टि उत्पन्न हुन सक्ने बताउनुभयो । उनका अनुसार अष्ट्रेलियाली यात्रु लामो समयदेखि पूर्ण–सेवा सुविधा दिने एयरलाइनको सेवामा अभ्यस्त छन्।
जेटस्टारका प्रमुख कार्यकारी अधिकृत स्टेफनी टुलीले नयाँ व्यवस्थाले ओभरहेड लकरको प्रभावकारी उपयोग, बोर्डिङ प्रक्रिया सहज बनाउन तथा उडान समयमै सञ्चालन गर्न सहयोग पुग्ने बताए ।
उनका अनुसार नयाँ नीतिले यात्रुलाई आफूले आवश्यक परेका सेवाका लागि मात्र शुल्क तिर्ने व्यवस्था सुनिश्चित गर्नेछ।
यद्यपि पिटरसनले जेटस्टारको आधारभूत हवाई भाडा युरोपका रायनएयर वा विज एयरजस्ता कम लागतका एयरलाइनको तुलनामा अझै महँगो रहेको टिप्पणी गरे। उनका अनुसार अष्ट्रेलियामा सीमित प्रतिस्पर्धा तथा उच्च सञ्चालन खर्चका कारण यस्तो अवस्था रहेको हो।
प्रकाशित समय : २१:३४ बजे


















