गृहपृष्ठ राष्ट्रिय सरोकार समितिमा अत्यावश्यक वस्तु र सेवाको सहज आपूर्तिमा जोड

राष्ट्रिय सरोकार समितिमा अत्यावश्यक वस्तु र सेवाको सहज आपूर्तिमा जोड

राष्ट्रिय सरोकार समितिमा अत्यावश्यक वस्तु र सेवाको सहज आपूर्तिमा जोड

काठमाडौँ।राष्ट्रियसभाको सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको सहज आपूर्ति, वितरण प्रणाली, मूल्य नियन्त्रणलगायत विषयमा छलफल भएको छ ।

सिंहदरबारमा भएको बैठकमा सरोकारवाला मन्त्रालय र पक्षको उपस्थितिमा नगरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा गहन छलफल भएको हो । दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको सहज आपूर्ति, वितरण प्रणाली, मूल्य नियन्त्रण, गुणस्तर सुनिश्चितता, प्रभावकारी बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण र प्रवर्द्धनका विषयमा समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उपभोक्ता हित संरक्षण मञ्च र राष्ट्रिय उपभोक्ता मञ्चसँग छलफल गरेर बजारमा एलपी ग्याँसको अभाव कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा राय सुझाव मागेको छ । बैठकमा ती सुझावहरूलाई सम्बन्धित मन्त्रालयले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको समितिका सभापति जयन्ती राईले बताए ।

नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव नरहेको स्पष्ट पार्दा समेत किन अभाव भयो र बजार अनुगमन किन हुन सकने भन्ने विषयमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा बैठकमा ध्यानाकर्षण गराइएको थियो । निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्याँस खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न आग्रह गर्दै आएको छ ।

मन्त्रालयका अधिकारीहरूले १४।२ केजीका सिलिन्डरको ग्याँस बिक्री सुरु भएपछि बजारमा ग्याँस अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सम्पूर्ण ग्याँस उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको र निगमले दूत टोली बनाएर काम गरिरहेको अवगत गराइएको थियो ।

काठमाडौँ उपत्यकामा उच्च मागलाई मध्यनजर गर्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्याँस, एलपी ग्याँस, एसएच ग्याँस, सुगम ग्याँस तथा श्रीराम ग्याँसका १४।२ केजीका सिलिन्डर बिहान ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।

यही साउन १ देखि १८ गतेसम्म जम्मा ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्याँस आयात भइसकेको निगमले जनाएको छ । यस अवधिको आयातले आपूर्तिमा कुनै समस्या नरहेको देखिएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्याँस खरिद गरी भण्डारण नगर्न आग्रह गरिएको छ ।

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु