गृहपृष्ठ एआई र रोबोटिक्सको युगमा रोजगारमुखी प्रमाणपत्रः कक्षा १२ पछिको व्यावसायिक तथा शैक्षिक करियर
एआई र रोबोटिक्सको युगमा रोजगारमुखी प्रमाणपत्रः कक्षा १२ पछिको व्यावसायिक तथा शैक्षिक करियर
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्सको प्रयोग विश्वभर तीव्र रूपमा विस्तार भइरहेका बेला पनि मानवीय निर्णय क्षमता, सूक्ष्म दक्षता र विश्वास आवश्यक पर्ने केही पेशाको महत्व भने यथावत् रहेको छ। त्यसैले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि यस्ता रोजगारमुखी तथा व्यावसायिक कोर्ष रोज्नु समयको आवश्यकता मात्र नभई एआईको चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने विकल्पका रूपमा पनि हेरिएको छ।
नेपालमा कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीले नेपाली विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजका साथै विदेशी विश्वविद्यालयका विभिन्न कोर्ष अध्ययन गर्न सक्छन्। औपचारिक समकक्षता नपाएका केही व्यावसायिक कार्यक्रमले समेत सम्बन्धित क्षेत्रमा प्रत्यक्ष रोजगारीमा प्रवेश गर्ने अवसर प्रदान गर्ने भएकाले यस्ता कोर्षप्रति आकर्षण बढ्दै गएको छ।
नेपालसहित विश्वभर एसीसीए, सीए, एएमई, पाइलट, मेडिकल, पारामेडिकल, प्राविधिक तथा इन्जिनियरिङलगायतका व्यावसायिक प्रमाणपत्रको माग उच्च रहेको छ। पछिल्ला वर्षहरूमा कक्षा १२ पछिका विद्यार्थीमा परम्परागत शैक्षिक कार्यक्रमभन्दा व्यावसायिक तथा रोजगारमुखी कोर्षप्रतिको आकर्षण बढेको देखिन्छ। यस्ता कोर्षले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप विकास, उद्योगसँगको प्रत्यक्ष सम्बन्ध र अन्तर्राष्ट्रिय मान्यतामा जोड दिने भएकाले अध्ययनपछि रोजगारीमा प्रवेश गर्न सहज हुने विश्वास गरिएको छ।
विशेषगरी, एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) विश्वका १८० भन्दा बढी देशमा मान्यता प्राप्त व्यावसायिक संस्था हो। यसले अन्तर्राष्ट्रिय लेखांकन, वित्त तथा व्यवसायिक रणनीतिका क्षेत्रमा करियर बनाउन अवसर प्रदान गर्छ। यसको लचिलो अध्ययन प्रणाली र पेपर–बाइ–पेपर परीक्षा प्रणालीका कारण विद्यार्थीले अध्ययनसँगै रोजगारी वा इन्टर्नसिप गर्न पनि सक्छन्।
नेपालमा भने चार्टर्ड एकाउन्टेन्सी (सीए) उत्तिकै लोकप्रिय व्यावसायिक कोर्ष हो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) अन्तर्गत सञ्चालन हुने यस कोर्षमा नेपाली लेखांकन मापदण्ड, कर, लेखापरीक्षण र नियामकीय अनुपालनमा विशेष जोड दिइन्छ। सीए पूरा गरेपछि स्वतन्त्र रूपमा लेखापरीक्षण गर्न तथा आफ्नै फर्म सञ्चालन गर्न पाइने भएकाले नेपालमै करियर बनाउन चाहनेका लागि यो उपयुक्त विकल्प मानिन्छ। यद्यपि, यो कोर्ष पूरा गर्न सामान्यतया साढे चारदेखि छ वर्षसम्म लाग्न सक्छ भने यसको समूहगत परीक्षा प्रणाली पनि तुलनात्मक रूपमा कठिन मानिन्छ।
कृत्रिम बुद्धिमत्ताले लेखाजोखाका आधारभूत काम गर्न सक्ने भए पनि कर प्रणालीको जटिलता, लेखापरीक्षणको नैतिक पक्ष र वित्तीय रणनीतिसम्बन्धी विश्लेषणमा मानवीय निर्णय अझै अपरिहार्य मानिन्छ। जटिल कर संरचना र वित्तीय अनुपालनका विषय एआईले मात्र समाधान गर्न नसक्ने भएकाले यस क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता कायमै रहने विज्ञहरूको भनाइ छ।
एसीसीएले अन्तर्राष्ट्रिय करियर, बहुराष्ट्रिय कम्पनी तथा विश्वव्यापी वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउँछ। सीएले भने नेपाल र भारतको बजारमा लेखापरीक्षण, कर परामर्श तथा अनुपालनका क्षेत्रमा बलियो आधार तयार पार्छ। एसीसीएको शुल्क बेलायती पाउन्डमा तिर्नुपर्ने भएकाले यो तुलनात्मक रूपमा महँगो पर्न सक्छ। सीएको शुल्क भने अपेक्षाकृत कम छ। यद्यपि, विश्वव्यापी मान्यता र लचिलो परीक्षा प्रणालीका कारण एसीसीए पनि विद्यार्थीको रोजाइमा पर्दै आएको छ।
पाइलटको पेशा विश्वभर उच्च सम्मानित र आकर्षक करियरका रूपमा स्थापित छ। मानव जीवनको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी र अन्तर्राष्ट्रिय मान्यताका कारण यो पेशाले विशेष महत्व राख्छ। यही कारण पाइलटलाई विश्वव्यापी करियरका रूपमा लिइन्छ। हालै सार्वजनिक एक विश्वव्यापी सर्वेक्षणले पनि पाइलटलाई संसारकै सबैभन्दा रोजाइको करियर (ड्रिम जब) मध्ये एकका रूपमा उल्लेख गरेको छ। पाइलट पेशाको अर्को विशेषता यसको अन्तर्राष्ट्रिय मान्यता हो। एक देशमा प्राप्त इजाजतपत्र आवश्यक मापदण्ड पूरा भएमा अन्य धेरै देशमा पनि मान्य हुने व्यवस्था छ।
यसको आधार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) ले एनेक्स–१ ९पर्सनल लाइसेन्सिङ० अन्तर्गत तय गरेको मापदण्ड हो। आईसीएओका १९३ सदस्य राष्ट्रले एकअर्काका इजाजतपत्रलाई निश्चित सर्तका आधारमा मान्यता दिने व्यवस्था गरेका छन्, जसले विश्वव्यापी उड्डयनलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुर्या्एको छ। आईसीएओको मापदण्डअनुसार जारी नभएका राष्ट्रिय इजाजतपत्र भने अन्तर्राष्ट्रिय रूपमा मान्य नहुन सक्छन्।युरोपेली सङ्घको उड्डयन सुरक्षा एजेन्सी (ईयासा) ले जारी गर्ने इजाजतपत्रलाई विश्वका ८९ प्रतिशतभन्दा बढी एयरलाइन्सले मान्यता दिने गरेका छन्। यसलाई उड्डयन क्षेत्रको प्रतिष्ठित सन्दर्भ इजाजतपत्रका रूपमा लिइन्छ।
नेपाल पनि आईसीएओको सदस्य राष्ट्र हो। नेपालको नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आईसीएओको मापदण्डअनुसार पाइलट इजाजतपत्र जारी गर्दै आएको छ। क्यानबाट जारी इजाजतपत्र आईसीएओको मापदण्डअनुरूप भएकाले अन्य सदस्य राष्ट्रहरूमा पनि यसको विश्वसनीयता कायम रहन्छ। यसले नेपाली पाइलटलाई अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा करियर बनाउने अवसर प्रदान गर्छ।
यसका साथै, एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ (एएमई) पनि उच्च रोजगारी सम्भावना भएको व्यावसायिक कोर्षमध्ये एक हो। उड्डयन सुरक्षाको आधार मानिने यस कोर्षले विद्यार्थीलाई विमानको निरीक्षण, मर्मत तथा उडानयोग्यता प्रमाणित गर्ने जिम्मेवारीका लागि तयार पार्छ। कुनै पनि विमान उडान भर्नुअघि इजाजतपत्रप्राप्त एएमईको स्वीकृति अनिवार्य हुने भएकाले यो पेशालाई विश्वभर उच्च जिम्मेवारी र सम्मानका साथ हेरिन्छ।
उड्डयन क्षेत्रको विस्तारसँगै विमानको सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न दक्ष प्राविधिकको माग पनि बढ्दो छ। एएमईले विमानको इन्जिन, एभियोनिक्स (विद्युतीय प्रणाली) तथा संरचनात्मक भागको परीक्षण गरी सम्भावित समस्या पहिचान र समाधान गर्छ। यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले यो पेशा विश्वका उच्च पारिश्रमिक हुने प्राविधिक क्षेत्रमध्ये एक मानिन्छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) को सदस्य रहेका अधिकांश देशका नागरिक उड्डयन नियामक निकायले जारी गर्ने एएमई इजाजतपत्रलाई सदस्य राष्ट्रहरूमा मान्यता दिइन्छ। उदाहरणका रूपमा भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको इजाजतपत्र आईसीएओका १९३ सदस्य राष्ट्रमा मान्य छ। योग्यता प्राप्त एएमईहरूले अन्तर्राष्ट्रिय एयरलाइन्स, विमान निर्माता कम्पनीहरू, जस्तै बोइङ र एयरबस, तथा मेन्टेनेन्स, रिपेयर एन्ड ओभरह्युल (एमआरओ) संस्थामा रोजगारी पाउन सक्छन्। विश्वभर दक्ष एएमईको अभाव रहेकाले यस क्षेत्रमा रोजगारीको सम्भावना उच्च रहेको बताइन्छ।
नेपालको नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि आईसीएओको मापदण्डअनुसार नियमन गर्दै आएको छ। नेपालका केही संस्थाले युरोपेली सङ्घको उड्डयन सुरक्षा एजेन्सी (ईयासा) को पार्ट–६६ मापदण्डअनुसार एएमई कोर्ष सञ्चालन गर्छन्, जुन अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रणाली हो। क्यानले आईसीएओ सदस्य राष्ट्रबाट जारी भएका इजाजतपत्रलाई मान्यता दिने व्यवस्था पनि गरेको छ।
विशेषज्ञहरूका अनुसार पाइलट र एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर दुवै पेशा एआईले सहजै प्रतिस्थापन गर्न सक्ने क्षेत्रमा पर्दैनन्। एआईले विमान सञ्चालन वा डाटा विश्लेषणमा सहयोग गर्न सक्ने भए पनि अप्रत्याशित मौसम, आपत्कालीन अवस्था, यात्रुको सुरक्षा तथा नैतिक निर्णयका लागि मानव पाइलटको भूमिका अपरिहार्य रहने उनीहरूको भनाइ छ।
त्यस्तै, एआईले विमानसम्बन्धी डाटा विश्लेषण गर्न सक्ने भए पनि वास्तविक मेकानिकल मर्मत, संरचनात्मक निरीक्षण तथा अन्तिम सुरक्षा प्रमाणीकरणको जिम्मेवारी इजाजतपत्रप्राप्त एएमईकै हुने भएकाले यस पेशाको महत्व भविष्यमा पनि कायमै रहने अपेक्षा गरिएको छ।
यस्ता प्राविधिक तथा व्यावसायिक कोर्षप्रति पनि विद्यार्थीको आकर्षण बढ्दो छ। औपचारिक शैक्षिक समकक्षता नभए पनि यस्ता कोर्षले विमान मर्मत, सवारीसाधन प्रविधि तथा यान्त्रिक क्षेत्रमा प्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्छन्। यातायात र उड्डयन क्षेत्रको विस्तारसँगै यी कोर्षको माग पनि बढ्दै गएको छ।
चिकित्सा क्षेत्रमा पनि एमबीबीएसबाहेकका प्यारामेडिकल तथा प्राविधिक कोर्षको माग निरन्तर बढिरहेको छ। डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी, रेडियोलोजी र फिजियोथेरापीजस्ता कोर्षले स्वास्थ्य क्षेत्रमा आकर्षक रोजगारीका अवसर उपलब्ध गराइरहेका छन्।
मेडिकल ल्याब टेक्नोलोजीले रगत, पिसाबलगायत विभिन्न नमूनाको परीक्षणमार्फत चिकित्सकलाई रोगको सही निदानमा सहयोग पुर्यासउँछ। कोभिड–१९ महामारीपछि प्रयोगशाला सेवाको महत्व थप स्पष्ट भएको छ। विश्व स्वास्थ्य संगठनले पनि प्रयोगशाला सेवालाई स्वास्थ्य प्रणालीको आधारभूत अंगका रूपमा लिएको छ। मोलिक्युलर डायग्नोस्टिक्सलगायत उन्नत प्रविधिमा दक्ष जनशक्तिको माग अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो छ।
रेडियोलोजी कोर्षले एक्स–रे, सीटी स्क्यान, एमआरआईलगायत आधुनिक उपकरण सञ्चालन तथा विकिरण सुरक्षासम्बन्धी व्यावहारिक सीप प्रदान गर्छ। नेपालका आधुनिक अस्पतालमा यसको माग उच्च छ भने विकसित मुलुकमा डिजिटल रेडियोलोजी, फ्लोरोस्कोपी तथा इन्टरभेन्सनल इमेजिङमा दक्ष जनशक्तिको आवश्यकता वृद्धवृद्धा जनसंख्या र दीर्घरोगीको संख्या बढ्दै जाँदा थप बढिरहेको छ।
फिजियोथेरापीले औषधिबिनै व्यायाम र शारीरिक उपचारमार्फत दुर्घटना, खेलकुदजन्य चोट तथा ढाड–घुँडाको समस्याबाट राहत दिलाउन सहयोग गर्छ। नेपालका अस्पताल, पुनर्स्थापना केन्द्र तथा खेलकुद क्लिनिकमा यसको माग उच्च छ। विश्वव्यापी रूपमा पनि वृद्ध जनसंख्या र जीवनशैलीजन्य रोगका कारण यो प्रतिष्ठित र राम्रो आम्दानी हुने पेशाका रूपमा स्थापित हुँदै गएको छ।
डिप्लोमापछि थप अध्ययन गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने अवसर पनि यस क्षेत्रमा उपलब्ध छ।
यी कोर्षको महत्व नेपालको स्वास्थ्य सेवाको आवश्यकता र विश्वव्यापी स्वास्थ्य क्षेत्रको माग दुवैसँग जोडिएको छ। सरकारी तथा निजी अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य संस्थाको विस्तारसँगै दक्ष प्यारामेडिकल जनशक्तिको माग पनि बढ्दै गएको छ। त्यसैले यस्ता कोर्षले स्वास्थ्य क्षेत्रमा छिट्टै रोजगारी र आम्दानीको अवसर प्रदान गर्ने मानिन्छ।
विशेषज्ञहरूका अनुसार एआईको विकाससँगै पनि मानवीय विशेषज्ञता, नैतिक निर्णय क्षमता र व्यावहारिक सीप आवश्यक पर्ने पेशाको महत्व घट्ने सम्भावना छैन। त्यसैले कक्षा १२ पछि कोर्ष छनोट गर्दा विद्यार्थीले आफ्नो रुचि, दीर्घकालीन करियर लक्ष्य, आर्थिक क्षमता तथा सम्बन्धित क्षेत्रमा एआईको प्रभावसमेत विचार गर्नुपर्ने उनीहरूको सुझाव छ।
नेपालमै राम्रो करियर बनाउन सकिने यस्ता व्यावसायिक कोर्षबारे पर्याप्त जानकारीको अभाव र समकक्षतालाई मात्र प्राथमिकता दिने सोचका कारण धेरै विद्यार्थीको ध्यान अझै यस्ता कार्यक्रमतर्फ जान सकेको छैन। त्यसका कारण विश्वव्यापी मागअनुसार दक्ष प्राविधिक जनशक्तिको आपूर्ति हुन नसकेको अवस्था पनि देखिन्छ।
शैक्षिक तथा व्यावसायिक क्षेत्रको स्वरूप परिवर्तन भइरहेका बेला परम्परागत विश्वविद्यालय शिक्षासँगै व्यावसायिक प्रमाणपत्र र प्राविधिक कोर्षले युवालाई आत्मनिर्भर र रोजगारीमुखी बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। एआईको विकास तीव्र भए पनि आकाश, वित्त, स्वास्थ्य र प्राविधिक क्षेत्रका यस्ता पेशामा दक्ष जनशक्तिको आवश्यकता कायम रहने भएकाले भविष्यमा पनि यिनको महत्व घट्ने देखिँदैन।
(विगत १७ वर्षदेखि नेपालको विभिन्न शैक्षिक संस्था सञ्चालन तथा व्यवस्थापनको अनुभव रहेको छ)
प्रकाशित समय : १६:२४ बजे

















