global ime bank Long Banner Ad

गृहपृष्ठ साउन १६ः दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

साउन १६ः दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

साउन १६ः दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौँ । कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै छ । मन्त्रिपरिषद्को २०८१ साल असार तेस्रो साताको बैठकले गरेको निर्णयअनुसार २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइन्छ ।
सन् २०२३ लाई संयुक्त राष्ट्र सङ्घले कोदोजन्य बाली वर्षको रूपमा मनाएको थियो । राष्ट्रिय कृषक समूह महासङ्घलगायत कृषिसँग सम्बन्धित विभिन्न संस्थाले सरकारलाई दिवस घोषणाको निर्णय गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा दिवस मनाउँदै आएका थिए । सरकारले घोषणा गर्नुअघि कृषिसँग सम्बन्धित संस्थाले पाँच वर्षसम्म कोदो दिवस मनाएका थिए ।

कृषकको मागबमोजिम तत्कालीन कृषिमन्त्री रामनाथ अधिकारीले यो दिवस घोषणाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । कोदो बालीका लागि धेरै मेहनत गर्नु नपर्ने र स्वास्थ्यका लागि पनि उपयोगी हुने भएकाले यसको प्रवर्द्धनमा जोड दिँदै आइएको छ ।

कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गरिँदै आइएको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषिविज्ञ बताउँछन् । राम्रोसँग भण्डारण गरेमा सयौँ वर्ष पनि सुरक्षित रहने भएकाले कोदो भविष्यमा खाद्य सङ्कट हटाउन सहयोगी हुने कृषिविज्ञ कृष्णप्रसाद पौडेलको भनाइ छ ।
कोदोलाई सम्मान गर्न र यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेको उहाँले बताए । कोदोमा अन्य बालीमा जस्तो विषादी, रासायनिक मलजस्ता कुनै पनि पदार्थ हाल्न नपर्ने भएकाले यो स्वस्थ र देशका लागि नै फाइदा हुने पनि कृषिविज्ञहरू बताउँछन् ।
मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपाल कुपोषणको दुष्च्रक्रमा फसेको र स्कुल पढ्ने बच्चा कुपोषणजस्तो रोगको सिकार भइरहेका बताउँदै कुपोषणबाट बच्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । श्रेष्ठ मन्त्रालयमा कोदो प्रवर्द्धनको मुख्य अधिकारीका रूपमा कार्यरत छन् ।

विसं २०७७ मा कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन महासङ्घ र अनाजले कोदो बहस शृङ्खलाको सुरुआत गरेको थियो । यसले गर्दा अहिले कोदोको उपयोग धेरै ठाउँमा बढ्दै गएको गएको छ ।

सीमावर्ती क्षेत्रमा हुने सस्तो र कम गुणस्तरको उत्पादन र आयातले आन्तरिक उत्पादन विस्थापन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा सात करोड १५ लाख २७ हजार बराबरको कोदो आयात भएको तथ्याङ्क छ । आव २०७७/७८ मा सात करोड २२ लाख बराबरको कोदो आयात भएको छ भने २०७९/८० मा ७३ करोड २० लाख र आव २०८०/८१ मा मात्र ७५ करोड ४४ लाख २२ हजार ६५९ बराबरको कोदो आयात भएको सरकारी तथ्याङ्क रहेको छ ।

दोस्रो कोदो दिवसका अवसरमा कृषि विभागले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–२ ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको प्रवक्ता राजेन्द्र कोइरालाले जानकारी दिए । सिन्धुपाल्चोक देशमै धेरै कोदो उत्पादन हुने जिल्लामध्येमा पर्दछ ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु