गृहपृष्ठ तराईको अशान्तिप्रति नाडाको चिन्ता, शान्तिपूर्ण समाधानमा जोड
तराईको अशान्तिप्रति नाडाको चिन्ता, शान्तिपूर्ण समाधानमा जोड
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सुनसरीको कप्तानगञ्जसहित तराईका केही जिल्लामा पछिल्लो समय देखिएका अशान्तिपूर्ण गतिविधि र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
शनिबार जारी विज्ञप्तिमा नाडाले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको मुलुक भएकाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचारालाई कायम राख्नु आवश्यक रहेको उल्लेख गरेको छ।
नाडाले संविधानले नागरिकलाई आफ्ना विचार, असहमति र मागहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने जनाएको छ।
विज्ञप्तिमा यस्ता घटनाले शान्ति–सुरक्षासँगै उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि र समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ। व्यवसायी समुदायसमेत पछिल्लो अवस्थाप्रति चिन्तित रहेको नाडाको भनाइ छ।
नाडाले सबै सम्बन्धित पक्षलाई संयमता अपनाई कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको समाधान खोज्न आग्रह गरेको छ। साथै सरकारले प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न र सामान्य जनजीवन तथा व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्नुपर्ने जनाएको छ।
नाडाले सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुतालाई थप सुदृढ बनाउन सबै नेपाली नागरिकलाई सकारात्मक भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ।
प्रकाशित समय : १६:३७ बजे


















