गृहपृष्ठ खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
नेपालगन्ज । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका विभिन्न ४४ वटा उपकरण मर्मत गरिएको छ ।
अस्पतालका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा ती उपकरण मर्मत गरी पुनः सञ्चालनयोग्य बनाएको हो ।
अस्पतालका निर्देशक डा निरज भट्टराईले मर्मत गरिएका अधिकांश उपकरण प्रयोगमा ल्याइसकिएको जानकारी दिए । उनले केही उपकरण थप मर्मतका लागि सिफारिस गरिएको र केही उपकरण प्राविधिक टोलीले थप परीक्षणका लागि लगेको बताए । उनले भने, “मर्मत भएका उपकरण पुनःसञ्चालनमा आएपछि बिरामीलाई सहज रूपमा सेवा दिन सकिएको छ ।”
अस्पतालमा लामो समयदेखि बिग्रिएका आवश्यक उपकरण मर्मतका लागि यही साउनको पहिलो साता राष्ट्रिय आविष्कार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबीच सम्झौता भएको थियो ।
सम्झौतापछि राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टोलीका नेता इन्जिनियर उमेश किरातीको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोली अस्पताल पुगेर उपकरणको मर्मत गरेको अस्पतालले जनाएको छ ।
मर्मत गरिएका उपकरणमा क्यान्सर परीक्षण र उपचारमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरण छन् । ती उपकरण पुनः सञ्चालनमा आएपछि बिरामीलाई उपचार सेवामा सहज भएको अस्पतालको भनाइ छ ।
राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल टोलीका नेता इन्जिनियर किरातीका अनुसार दुईवटा एक्स–रे मेसिन, एउटा अल्ट्रासाउन्ड मेसिन, तीनवटा भेन्टिलेटर, एउटा एनेस्थेसिया मेसिन, एउटा ‘किमो’ क्याबिनेट तथा माइक्रोस्कोप र ल्याप्रोस्कोपी टावरलगायतका उपकरण मर्मत गरिएको छ ।
उनले ल्याप्रोस्कोपी टावरका केही पार्टपुर्जा नेपालमा उपलब्ध नभएकाले विदेशबाट मगाउनुपर्ने अवस्था रहेको बताए। सोही कारण बिग्रिएको म्यामोग्राफी मेसिन मर्मत गर्न पनि समस्या भएको उनको भनाइ छ । अस्पतालका थप दुई उपकरण मर्मतका लागि काठमाडौँ लगिएको छ ।
खजुराका स्थानीय अगुवा शिवराज श्रेष्ठले लामो समयदेखि प्रयोगविहीन रहेका उपकरण मर्मत भएपछि साना परीक्षणका लागि पनि बाहिर जानुपर्ने बिरामीको बाध्यता हटेको बताए ।
उनले राष्ट्रिय आविष्कार केन्द्रलाई अझ सुदृढ बनाउँदै देशभरका अस्पताल तथा अन्य क्षेत्रमा बिग्रिएका उपकरण मर्मत र नयाँ उपकरण विकासमा सरकारले थप सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । गत वर्ष पनि राष्ट्रिय आविष्कार केन्द्रले भेरी अस्पतालका १२ वटा विभिन्न उपकरण मर्मत गरेको थियो ।
प्रकाशित समय : ०६:२८ बजे

















