global ime bank Long Banner Ad

गृहपृष्ठ २७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि कार्यालयहरूमा पठाइयो

२७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि कार्यालयहरूमा पठाइयो

२७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि कार्यालयहरूमा पठाइयो

काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र स्रोतगत समस्याका कारण लामो समयदेखि थन्किएका लाइसेन्सहरू हालै छपाइ सकिएर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइएको जानकारी दिएको हो ।

विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको सम्झौता अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्सहरू तयार पारिएको छ । प्राप्त विवरण अनुसार, साउन ७ गतेसम्ममा २७ लाख ४७ हजार २५३ थान कार्डहरू हुलाकमार्फत देशभरका सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको छ । लामो समयको ढिलाइ र प्रतीक्षाका बाबजुद धैर्यता देखाएकोमा विभागले सेवाग्राहीहरूप्रति आभार समेत प्रकट गरेको छ ।

यद्यपि, विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सहरू भने छपाइ नगरेको प्रस्ट पारेको छ । हाल नवीकरण गर्दा १० वर्ष अवधिको लाइसेन्स प्राप्त गर्न सकिने प्रावधान रहेकोले, एक वर्षभन्दा कम म्याद भएका सेवाग्राहीहरूलाई आफ्नै पायक पर्ने कार्यालयमा गई नवीकरण प्रक्रिया अघि बढाउन विभागले अनुरोध गरेको छ ।

लाइसेन्स प्रणालीलाई थप आधुनिक र झन्झटमुक्त बनाउन विभागले केही नयाँ सुधारहरू पनि ल्याएको छ । अब नयाँ लाइसेन्स र नवीकरणका लागि राष्ट्रिय परिचयपत्रमा भएको विवरण प्रयोग गरिने र राजस्व भुक्तानी अनलाइनमार्फत नै गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको छ । साथै, लाइसेन्समा भएका विवरणगत त्रुटिहरू अब सम्बन्धित कार्यालयबाटै तत्कालै सच्याउन सकिने प्रबन्ध मिलाइएको छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि भने द्रुत छपाइ र वितरणको विशेष व्यवस्था गरिएको विभागले जनाएको छ ।

प्रकाशित समय : १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु