गृहपृष्ठ दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीमा गोल्छा अर्गनाइजेसनका विविध सामाजिक कार्यक्रम
दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीमा गोल्छा अर्गनाइजेसनका विविध सामाजिक कार्यक्रम
काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेसनले संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती बुधबार ‘संस्थापक दिवस’ का रूपमा मनाएको छ। यस अवसरमा अर्गनाइजेसनले देशभरका आफ्ना उद्योग, कारखाना र कार्यालयहरूमार्फत विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गरेको हो।
काठमाडौंस्थित कर्पोरेट कार्यालय, विभिन्न शाखा कार्यालय र उद्योगका कारखानाहरूमा विशेष कार्यक्रम आयोजना गरिएको अर्गनाइजेसनले जनाएको छ। कार्यक्रमअन्तर्गत स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा उपलब्ध गराइएको थियो।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरण गरिएको छ। यसले मिर्गौला रोगका बिरामीलाई उपचार सेवा विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसका साथै स्थानीय विद्यालय र वृद्धाश्रममा भोजन वितरण, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण र वातावरण संरक्षणको सन्देशसहित वृक्षारोपण कार्यक्रम पनि विभिन्न स्थानमा सम्पन्न भएको छ।
दिवाकर गोल्छाले नेपालमा उत्पादनमूलक उद्योगको विस्तार, औद्योगिकीकरण र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै विभिन्न उद्योग स्थापना गरेका थिए। उनको पहलमा कर्कटजस्ता पाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिल युटेन्सिल, जीआई सामग्री, कपर वायर र इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योग स्थापना भएका हुन्, जसमार्फत हाल करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
उनकै पहलमा स्थापना भएको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले हालसालै ४५ वर्ष पूरा गरेको छ। यो कम्पनी स्वदेशी उत्पादन प्रवर्द्धन र औद्योगिक विकासमा योगदान दिँदै आएको अर्गनाइजेसनको भनाइ छ।
अर्गनाइजेसनअन्तर्गत सञ्चालित दिवाकर गोल्छा फाउन्डेसनले पनि शिक्षा, स्वास्थ्य, विपद् राहत लगायतका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आर्थिक तथा सामाजिक सहयोग पुर्याउँदै आएको छ। स्वर्गीय गोल्छाले अघि सारेको औद्योगिक विकास र स्वदेशी रोजगारी सिर्जनाको अवधारणालाई निरन्तरता दिने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको अर्गनाइजेसनले जनाएको छ।
प्रकाशित समय : १९:२४ बजे


















