गृहपृष्ठ कुमारी बैंक र निम्बजबिच सम्झौता : मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा उपलब्ध
कुमारी बैंक र निम्बजबिच सम्झौता : मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा उपलब्ध
काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय डिजिटल सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रालि (निम्बज)सँग सहकार्य गरेको छ। सम्झौतापछि निम्बजले उपलब्ध गराउँदै आएको अन्तर्राष्ट्रिय eSIM तथा International Driving Permit (IDP) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको बैंकले जनाएको छ।
यससँगै कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय eSIM डेटा प्याक खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित विदेश आवतजावत गर्ने ग्राहकका लागि यो सेवा विशेष रूपमा उपयोगी हुनेछ।
बैंकले विदेश यात्राका क्रममा भरपर्दो इन्टरनेट पहुँच र आवश्यक यात्रा कागजातको व्यवस्थापनलाई सहज बनाउन यो सेवा ल्याइएको जनाएको छ। eSIM सेवाले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवा खोज्नुपर्ने झन्झट हटाउँदै ग्राहकलाई सहज रूपमा डेटा सेवा प्रयोग गर्न सहयोग गर्ने विश्वास बैंकको छ।
त्यसैगरी, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो र व्यवस्थित बनाउने बैंकले जनाएको छ। डिजिटल माध्यमबाट आवेदन दिन सकिने व्यवस्थाले सेवा प्राप्त गर्ने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
यस सेवाअन्तर्गत ग्राहकले eSIM तथा IDP सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने बैंकको विश्वास छ। बैंकका अनुसार यसबाट ग्राहकको समय, लागत तथा श्रमको बचत हुने र स्वदेशमै बसेर अन्तर्राष्ट्रियस्तरका सेवा लिन सकिनेछ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन्। बैंकले प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस सहकार्यले ग्रामीण, अर्धशहरी तथा शहरी क्षेत्रका ग्राहकसम्म अन्तर्राष्ट्रिय डिजिटल सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रकाशित समय : १९:१५ बजे


















