काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

2.12K
shares

भद्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।

सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको कामले पछिल्ला दिनहरूमा तीव्रता पाइरहेको छ ।

आयोजनाको हालैको विवरणअनुसार पूर्वी खण्डमा पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ । निर्माण कार्यले गति लिए पनि सम्झौता अवधि सकिन करिब छ महिना मात्र बाँकी रहेकाले निर्माण सम्झौताको म्याद थप आवश्यक देखिएको छ ।

पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म १६ दशमलव पाँच किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ । उनले मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको बताएका छन् ।

“निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ,” आयोजना प्रमुख पन्तले भने, “वर्षायामका कारण केही अवरोध सिर्जना भए पनि हामीले निर्माण कार्यलाई निरन्तरता दिइरहेका छौँ।”

पूर्वी खण्डमा इभरस्कोन–कालिका जेभीले स्तरोन्नतिको काम गरिरहेको छ । काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु १० अर्ब छ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको हो । निर्माण कार्य २०८० माघ १९ गतेदेखि सुरु भएको थियो भने २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

एसियाली विकास बैङ्कको ८४ दशमलव नौ प्रतिशत ऋण र नेपाल सरकारको १५ दशमलव एक प्रतिशत लगानीमा यो आयोजना बन्दैछ । यो योजना पूर्ण रूपमा सम्पन्न भएपछि यातायात सञ्चालनमा सहजता आउनुका साथै सडक सुरक्षामा पनि ठूलो सुधार हुनेछ । आयोजना सम्पन्न भएपछि मुख्य सहरी क्षेत्रमा चार लेनको सडक, बीचमा तीन मिटर चौडा डिभाइडर र दुवैतर्फ सर्भिस लेनसहित करिब ५० मिटर चौडाइको अत्याधुनिक सडक संरचना तयार हुनेछ ।