इच्छाकामनाका ३४ परिवारले पाए लालपूर्जा, ५०० दिनभित्र सबै भूमिहीनलाई वितरण गर्ने लक्ष्य
वि.सं.२०८३ साउन ९ शनिवार ०५:४९
shares

चितवन। इच्छाकामना गाउँपालिका–७ भालुवाङस्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ परिवारलाई शुक्रबार जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ।
भूमि समस्या समाधान आयोगका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गर्दै सबै पक्षको सहयोग र समन्वय भए आफ्नो कार्यकालभित्र सबै भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने लक्ष्य रहेको बताए। उनले ५०० दिनभित्र लालपूर्जा वितरण सम्पन्न गर्ने योजना रहेको उल्लेख गर्दै यसका लागि स्थानीय तह, जिल्ला समिति र निवेदक सबैको सक्रिय सहयोग आवश्यक पर्ने बताए। उनका अनुसार भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने चितवन दोस्रो जिल्ला हो।
कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै स्थानीय तहसँग समन्वय गरेर प्रक्रिया पूरा गरेका लाभग्राहीलाई तत्काल लालपूर्जा वितरण गरिने र अपुग प्रक्रिया पूरा गर्न आवश्यक सहजीकरण गरिने बताए। उनले जिल्लाभर नापजाँच, दर्ता, प्रमाणीकरणलगायतका काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिँदै चितवनमा हालसम्म ४२ हजार निवेदन दर्ता भएको बताए।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार शुक्रबार लालपूर्जा प्राप्त गर्ने ३४ परिवारमध्ये चार परिवार भूमिहीन दलित र ३० परिवार भूमिहीन सुकुम्बासी हुन्। सोही बस्तीका थप ३८ परिवारको लालपूर्जा तयार भए पनि सम्बन्धित जग्गाधनी उपस्थित नभएकाले उनीहरू आएपछि वितरण गरिने उनले बताए।
गाउँपालिकामा हाल ८० भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी परिवार रहेको गाउँपालिकाले जनाएको छ।
लालपूर्जा वितरण कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी तथा इच्छाकामना गाउँपालिकाका सातै वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।

























