गृहपृष्ठ २५ वर्ष सेवा पूरा गरेका १८३ शिक्षक–कर्मचारीलाई त्रिविको दीर्घसेवा पदक
२५ वर्ष सेवा पूरा गरेका १८३ शिक्षक–कर्मचारीलाई त्रिविको दीर्घसेवा पदक
काठमाडौं त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ६७औँ वार्षिकोत्सवका अवसरमा २५ वर्ष निरन्तर सेवा पूरा गरेका १८३ शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिविको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. भेला थापाले शिक्षकतर्फ १४२ जना र कर्मचारीतर्फ ४१ जनालाई पदक प्रदान गर्नुभयो। त्रिविले २५ वर्ष निरन्तर सेवा गरेका शिक्षक तथा कर्मचारीलाई सेवा अवधिमा एकपटक दीर्घसेवा पदक प्रदान गर्ने व्यवस्था छ।
पदक वितरण कार्यक्रममा बोल्दै उपकुलपति थापाले विश्वविद्यालयले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत आफ्नो क्षमता थप सुदृढ बनाउनुपर्ने बताउनुभयो। विश्वविद्यालयको समग्र सुधारका लागि प्राध्यापक, कर्मचारी, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाको सक्रिय र रचनात्मक सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापालगायत विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको थियो।
प्रकाशित समय : १९:४४ बजे



















