गृहपृष्ठ वीरगञ्जमा सडक विस्तार अभियान पुनः सुरु
वीरगञ्जमा सडक विस्तार अभियान पुनः सुरु
वीरगञ्ज । गहवामाई चौथो रथयात्राका कारण केही दिन रोकिएको वीरगञ्जको मुख्य सडक विस्तार अभियान मंगलबारदेखि पुनः सुरु भएको छ। सडक डिभिजन कार्यालय, हेटौंडाले घण्टाघर–अलखियामठ सडकखण्डमा बाँकी रहेका संरचना हटाउने कामलाई पुनः अघि बढाएको हो।
सडक डिभिजन कार्यालयका इन्जिनियर दुर्गाप्रसाद शर्माले रथयात्रालाई सहज रूपमा सम्पन्न गराउन अभियान केही दिन स्थगित गरिएको र अब निरन्तर सञ्चालन हुने बताए। उनका अनुसार घण्टाघर क्षेत्रमा सातमध्ये पाँच वटा डोजर परिचालन गरी संरचना हटाउने काम भइरहेको छ।
अहिलेसम्म घण्टाघर आसपासको करिब सात किलोमिटर सडकखण्डमा करिब ६ सय संरचनाका अगाडिका भाग हटाइसकिएको शर्माले जानकारी दिए।
वीरगञ्जको मुख्य सडक विस्तार अभियान गत वैशाख ६ गतेदेखि सुरु भएको हो। पहिलो चरणमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने करिब एक हजार २०० संरचनाका अगाडिका भाग हटाइएको थियो।
यसअघि सडक डिभिजन कार्यालयले साउन २ गते सूचना जारी गर्दै त्रिभुवन राजपथअन्तर्गत सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्म सडक सीमा संरक्षणको काम भइरहेकाले सडक सीमाभित्र रहेका पसल तथा अन्य संरचना तत्काल खाली गर्न आग्रह गरेको थियो। कार्यालयले घरभित्र कोही नबस्न, सामान सुरक्षित स्थानमा सार्न तथा होटल, लज र अतिथि गृहमा पाहुना नराख्नसमेत अनुरोध गरेको थियो।
प्रकाशित समय : १९:४९ बजे



















