गृहपृष्ठ नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सरकारले सहयोग गर्ने : सञ्चारमन्त्री
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सरकारले सहयोग गर्ने : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलसँग आइतबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री तिमिल्सिनाले नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तार गर्न सरकार सकारात्मक रहेको बताए।
उनले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नागरिकस्तरको सम्बन्ध र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार र विश्व बजारमा प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भेटमा चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल चीनको निकट मित्र राष्ट्र भएको उल्लेख गर्दै प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका कारण नेपाल चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य रहेको बताए। उनले चलचित्रमार्फत सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र दुई देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार नेपाल–चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्च बनेको छ।
उनका अनुसार गत अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तका चाङ्सा र हेङयाङमा आयोजित महोत्सवमा नेपालबाट २३ चलचित्र आवेदन परेकामा चिनियाँ सेन्सर प्रक्रियापछि ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ प्रदर्शनका लागि स्वीकृत भएका थिए। ती चलचित्र चिनियाँ उपशीर्षकसहित प्रदर्शन गरिएको थियो।
महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम साउन ५ गते चलचित्र विकास बोर्डमा आयोजना गरिने बोर्डले जनाएको छ।
प्रकाशित समय : १९:०१ बजे



















