विज्ञापन क्षेत्र पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री
वि.सं.२०८३ साउन ४ सोमवार १८:५९
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वच्छ, पारदर्शी र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाल विज्ञापन सङ्घका पदाधिकारीसँग आइतबार मन्त्रालयमा भएको छलफलमा उनले विज्ञापन क्षेत्रलाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन विद्यमान ऐन, नियम र कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताए।
“विज्ञापन क्षेत्रको दुरुपयोग हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्छ। यसलाई स्वच्छ, स्वस्थ र पारदर्शी बनाउनु सबैको साझा दायित्व हो,” मन्त्री तिमिल्सिनाले भने, “निजी क्षेत्रले पनि गलत अभ्यास रोक्न सक्रिय भूमिका खेल्नुपर्छ भने नियामक निकायले आफ्नो जिम्मेवारीबाट पछि हट्न मिल्दैन।”
उनले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा देखिएको अपारदर्शिता हटाउन सरकारले सुधार प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। इमान्दार र कानुनसम्मत व्यवसायबाट पनि सफलता हासिल गर्न सकिने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्री तिमिल्सिनाले सरकारले हालै जारी गरेको राष्ट्रिय विज्ञापन नीति–२०८३ को प्रभावकारी कार्यान्वयनमार्फत विज्ञापन क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाइने बताए। उनले विज्ञापन बोर्डको नियामकीय क्षमता सुदृढ बनाउन आवश्यक पहल गरिने र सरकार तथा निजी क्षेत्रबीच निरन्तर समन्वय कायम गरिने उल्लेख गरे।
छलफलका क्रममा उनले समग्र सञ्चार क्षेत्रलाई स्वच्छ, पारदर्शी र जवाफदेही बनाउन नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिए। सञ्चार क्षेत्रका कमजोरीका कारण विज्ञापन बजारसमेत प्रभावित भएको उल्लेख गर्दै उनले सुधारका काम चरणबद्ध रूपमा अघि बढाइने बताए।
नेपाल विज्ञापन सङ्घका अध्यक्ष सुदीप थापाले पछिल्लो दशकमा विज्ञापन बजारको स्वरूप परिवर्तन भए पनि अस्वस्थ प्रतिस्पर्धा र पर्याप्त लगानीको अभावले चुनौती बढेको बताए। उनले विज्ञापन बजार विस्तारका लागि स्वस्थ प्रतिस्पर्धा, दीर्घकालीन लगानी र व्यावसायिक वातावरण आवश्यक रहेको धारणा राखे।
थापाले डिजिटल विज्ञापन, सामाजिक सञ्जाल र ‘इन्फ्लुएन्सर मार्केटिङ’लाई प्रभावकारी रूपमा नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रिय विज्ञापन नीति–२०८३ को प्रभावकारी कार्यान्वयनमा जोड दिए। उनले विज्ञापन बजारको विश्वसनीय तथ्यांक संकलन तथा विज्ञापन बोर्डलाई थप सक्षम र आधुनिक नियामक निकायका रूपमा विकास गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

























