गृहपृष्ठ विपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु सचेतनासँगै ‘मानवीय सहयोग कोष’ स्थापना गरिने
विपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु सचेतनासँगै ‘मानवीय सहयोग कोष’ स्थापना गरिने
काठमाडौं । नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा साउन ६ र ७ गते विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। यसअन्तर्गत साउन ६ गते काठमाडौं उपत्यकामा जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘ग्रिन रन’ आयोजना गरिने भएको हो।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार आयोजित पत्रकार सम्मेलनमा ‘जलवायु जनचेतना जगाउन जुटौं’ नारासहित पाँच किलोमिटर दौड आयोजना गर्न लागिएको जानकारी दिए।
प्रतिष्ठानका प्रमुख तथा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माका अनुसार दौडपछि जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी ?’ विषयमा विज्ञसहितको अन्तरक्रिया हुनेछ। सोही क्रममा जलवायु परिवर्तनका चुनौती र सम्भावना झल्किने चित्रकला पनि सुपरिचित चित्रकारहरूले तयार पार्नेछन्।
कांग्रेसले ‘ग्रिन रन’मा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट छुट्याई ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ। उक्त कोषको रकम पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको हितमा खर्च गरिने शर्माले बताए।
साउन ७ गते भने ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी राष्ट्रिय सभागृहमा आयोजना गरिने र सोही कार्यक्रममा पार्टीको नयाँ अभियान सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।
पत्रकार सम्मेलनमा उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन सबै पक्षको सहभागितामा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारमा सहकार्यका विषयमा पनि छलफल भइरहेको बताए। उनले लोकतान्त्रिक व्यवस्थामा कुनै पनि संसद् प्रतिपक्षविहीन हुन नहुने धारणा पनि राखे।
प्रकाशित समय : १८:३६ बजे



















