गृहपृष्ठ मानव–वन्यजन्तु द्वन्द्व समाधान राजनीतिक दलको प्राथमिकतामा पर्नुपर्छ : गगन थापा
मानव–वन्यजन्तु द्वन्द्व समाधान राजनीतिक दलको प्राथमिकतामा पर्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।
कांग्रेसको १२औँ ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत आयोजित ‘मानव–वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले यस विषयमा व्यापक छलफल गरी सुझावसहितको दस्तावेज तयार गरिने जानकारी दिए ।
उनले उक्त दस्तावेज स्थानीय सरकार तथा संसदमा रहेका सांसदहरूमाझ पनि पठाइने बताए ।
थापाले भने, ‘नागरिकको जीवनसँग जोडिएको यो अत्यन्तै महत्वपूर्ण विषय हो। यसलाई राजनीतिक दलले समाधान गर्नुपर्ने विषयका रूपमा लिनुपर्छ भन्ने हाम्रो धारणा छ । यस सम्बन्धमा छलफल गरेर एउटा दस्तावेज तयार गर्छौं। त्यसपछि स्थानीय सरकारलाई पठाउँछौं र संसदमा पनि साथीहरूमाझ प्रस्तुत गर्छौं ।’
उनले राजनीतिक दलहरू नागरिकका दैनिक जीवनसँग सम्बन्धित यस्ता विषयप्रति पर्याप्त गम्भीर हुन नसकेको पनि स्वीकार गरे ।
उनका अनुसार राजनीतिक दलहरू प्रायः ठूला राजनीतिक मुद्दामै केन्द्रित हुने भएकाले मानव–वन्यजन्तु द्वन्द्वजस्ता नागरिकका सरोकारका विषयले पर्याप्त प्राथमिकता पाउन सकेका छैनन् ।
‘राजनीतिक दलका कार्यालयमा यस्ता विषयले कहिल्यै प्रवेश पाउँदैनन्। हामी ठूला–ठूला विषयमै अलमलिएका हुन्छौं। यी ठूला राजनीतिक मुद्दा होइनन्, तर नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण विषय हुन्। यसमा व्यापक बहस हुनुपर्छ र समाधान पनि हामीले नै खोज्नुपर्छ,’ उनले भने।
प्रकाशित समय : १८:१२ बजे



















