गृहपृष्ठ गोलभेँडाको मूल्य आधा घटेपछि पाँचथरका किसान चिन्तित
गोलभेँडाको मूल्य आधा घटेपछि पाँचथरका किसान चिन्तित
पाँचथर। उत्पादन लागत बढे पनि बजार मूल्य घटेपछि पाँचथरका गोलभेँडा उत्पादक किसान समस्यामा परेका छन्। गत वर्षको तुलनामा यस वर्ष गोलभेँडाको मूल्य करिब आधा घटेपछि किसानले लगानी उठाउन समेत कठिन भएको बताएका छन्।
गोलभेँडा उत्पादनको मुख्य क्षेत्र याङवरक गाउँपालिका–६ का किसान नवीन श्रेष्ठले बजार मूल्य घट्दा उत्पादनबाट लाभ लिन नसकिएको बताए। “मूल्य कम भए पनि बजारमा पठाउनैपर्ने बाध्यता छ। उत्पादन फाल्न सकिँदैन, तर यस वर्ष किसानलाई फाइदा छैन,” उनले भने।
किसानका अनुसार अहिले पाँचथरमा गोलभेँडा प्रतिकिलो १५ देखि १७ रुपैयाँमा बिक्री भइरहेको छ। गत वर्ष औसत ३० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको गोलभेँडाको मूल्य यस वर्ष घटेपछि उत्पादन लागत धान्न कठिन भएको किसानको भनाइ छ।
किसान आइतराज योङहाङका अनुसार गोलभेँडा खेतीबाट फाइदा लिन प्रतिकिलो कम्तीमा ३० रुपैयाँभन्दा बढी मूल्य आवश्यक पर्छ। विगतमा राम्रो आम्दानी हुने भएकाले यस वर्ष धेरै किसान गोलभेँडा खेतीमा आकर्षित भए पनि अहिले लगानी उठाउनै समस्या भएको उनले बताए।
किसान सीता पौडेल मिश्रले उत्पादन लागत पछिल्ला वर्षमा बढेको बताइन्। मल्चिङ प्रविधि प्रयोग गरेर खेती गर्नुपर्ने भएकाले खर्च बढेको तर बजार मूल्य नपाउँदा श्रमको समेत मूल्य नउठ्ने अवस्था आएको उनको भनाइ छ।
गोलभेँडाको व्यापार गर्दै आएका याङवरक–६ का लेखप्रकाश खेवाङका अनुसार बजारमा आपूर्ति बढ्दा मूल्य घटेको हो। उनका अनुसार पूर्वी पहाडमा उत्पादित गोलभेँडाको मुख्य बजार पूर्वी तराई भए पनि झापा, मोरङ र सुनसरीका बजारमा बाहिरी क्षेत्रबाट ठूलो परिमाणमा गोलभेँडा आउँदा स्थानीय किसान प्रभावित भएका छन्।
“अहिले किसानबाट प्रतिकिलो १५–१६ रुपैयाँमा खरिद गर्नुपर्ने अवस्था छ। बजारमा आपूर्ति धेरै भएकाले मूल्य घटेको हो,” खेवाङले भने।
उनका अनुसार विगतमा पाँचथरको गोलभेँडाले प्रतिकिलो ५० रुपैयाँभन्दा बढी मूल्य पाउने गरेको थियो। पहिले भारतसम्म निर्यात हुने गोलभेँडा अहिले भने भारतबाटै नेपाल भित्रिन थालेको र उत्पादन क्षेत्र विस्तार हुँदा बजारमा दबाब परेको उनले बताए।
पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ र याङवरक गाउँपालिकामा ठूलो मात्रामा गोलभेँडा उत्पादन हुने गरेको छ। गत चैतमा रोपिएको गोलभेँडा अहिले बजारमा आउन थालेको हो। यहाँ कात्तिकसम्म गोलभेँडा उत्पादन हुने गर्दछ।
पहिलो सिजनको उत्पादनले उचित मूल्य नपाए पनि पछिल्लो उत्पादनमा मूल्य सुधार हुने आशामा किसानहरू रहेका छन्।
प्रकाशित समय : २१:१५ बजे



















