गृहपृष्ठ ४९ करोड ८८ लाखको बजेटसहित लुम्बिनी विश्वविद्यालयको आगामी योजना तय
४९ करोड ८८ लाखको बजेटसहित लुम्बिनी विश्वविद्यालयको आगामी योजना तय
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ८८ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सुमन पोखरेलको अध्यक्षतामा सिंहदरबारमा बसेको विश्वविद्यालय सभाको बैठकले बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो।
बैठकमा सहकुलपति पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुरूप बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनलाई केन्द्रमा राखेर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन रणनीति अवलम्बन गर्न निर्देशन दिए।
उपकुलपति डा. माणिकरत्न शाक्यका अनुसार विश्वविद्यालयमा हाल दुई हजार ६२० विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् भने आठ सम्बन्धनप्राप्त र आठ सहकार्यमा सञ्चालित कलेज रहेका छन्। विश्वविद्यालयमा २०२ अन्तरराष्ट्रिय विद्यार्थी अध्ययनरत छन्।
विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले चीन, जापान, भारत, कोरियालगायतका विश्वविद्यालय तथा संस्थासँग थप समझदारीपत्र (एमओयू) गरी अन्तरराष्ट्रिय सहकार्य विस्तार गरिएको जानकारी दिए। साथै, पाठ्यक्रममा माइक्रो–सिलेबस प्रणाली लागू गर्नुका साथै कम्प्युटर–आधारित परीक्षा र प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको उनले बताए।
बैठकमा विश्वविद्यालयले आर्थिक तथा प्रशासनिक सुधारका कार्यक्रमलाई अघि बढाउँदै आन्तरिक आम्दानी वृद्धि र वित्तीय अनुशासन सुदृढ बनाउन उल्लेखनीय प्रगति हासिल गरेको जानकारी पनि प्रस्तुत गरिएको थियो। बैठकमा विश्वविद्यालय सभाका सदस्य, पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।
प्रकाशित समय : २१:१२ बजे



















