गृहपृष्ठ पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नाम बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो।
सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण गरिएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताए।
“भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कुम्माखोलाको कटानको जोखिममा परेको थियो,” उनले भने, “ग्यावियन पर्खाल र तटबन्ध निर्माण गरेपछि पहिरो, बाढी र कटानको जोखिम घटेको छ।”
एक सयभन्दा बढी घरपरिवारको बसोबास रहेको दग्नामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेको वडाध्यक्ष गर्बुजाले बताए। रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै दर्मीजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक पनि यस योजनापछि सुरक्षित बनेको छ।
उक्त योजना निर्माणका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा हिमालयन कन्ट्रक्सन/ताण्डपेश्वर/हिमालयन बिल्डर्स जेभीले २०८२ साल फागुन २९ गते ठेक्का सम्झौता गरेको थियो।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले योजनाअन्तर्गत तीन हजार ७५३ घनमिटर ग्यावियन पर्खाल निर्माण सम्पन्न भएको जानकारी दिए। असार १९ गतेसम्मको ठेक्का अवधि रहे पनि आयोजना निर्धारित समयअगावै सम्पन्न भएको उनले बताए।
निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद सम्झौतापछि नै निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरी निर्धारित समयअघि नै योजना सम्पन्न गरेको बताए। स्थानीय जनप्रतिनिधि, समुदाय र आयोजना कार्यालयको सहजीकरण तथा समन्वयका कारण समयमै काम पूरा गर्न सफल भएको उनको भनाइ छ।
यसैगरी, सङ्घीय सरकारको रु दुई करोड ३९ लाख लगानीमा रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा–चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ९०० मिटर ढलान गरी पक्की बनाइएको छ।
दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दा सडक सुधारबाट लाभान्वित भएको वडाध्यक्ष गर्बुजाले बताए।
प्रकाशित समय : ०८:१६ बजे



















