global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

काठमाडौं । नेपालको आँखा उपचार सेवा र शिक्षाको कम्बोडियाले उच्च प्रशंसा गरेको छ।

थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियासमेत) धनबहादुर ओलीसँग भएको भेटमा कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव तथा प्रधानमन्त्रीका निजी सल्लाहकार इट सोफियाले नेपालको आँखा उपचार सेवाको प्रशंसा गरेका हुन्।

थाइल्यान्डस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार भेटमा स्थायी सचिव सोफियाले असार २० र २१ गते कम्बोडियाको कम्पोङ चाम प्रान्तमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट कम्बोडियाली नागरिक लाभान्वित भएको र शिविर सफलतापूर्वक आयोजना गरेकोमा नेपालको प्रशंसा गरेका हुन्।

कम्बोडियाका साझेदारहरूसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल) र नेपाली राजदूतावासको संयुक्त प्रयासमा उक्त शिविर सञ्चालन गरिएको थियो।

भेटमा आँखा उपचारलगायत जनस्वास्थ्य क्षेत्रमा थप सहकार्य गर्ने, शिक्षा, कृषि, पर्यटन तथा आपसी हितका अन्य क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ। साथै दुई देशबीचको आर्थिक तथा व्यापारिक सहयोग बढाउने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

सो अवसरमा राजदूत ओलीले आँखा स्वास्थ्य क्षेत्रमा कम्बोडियाको क्षमता अभिवृद्धिका लागि तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएर सहकार्य विस्तार गर्न नेपाल तयार रहेको बताए। कम्बोडियाली नागरिकमा आँखा उपचार सेवाको माग उच्च रहेकाले निकट भविष्यमा अर्को शिविर आयोजना गर्न नेपाल तयार रहेको जानकारी उनले सोफियालाई गराए।

दुई देशबीचको पर्यटन सम्भावनाबारे छलफल गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा क्षेत्र अङ्कोर वाटबीचको सम्बन्ध सुदृढ गर्दै बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रको प्राविधिक सहकार्य र थाइल्यान्डस्थित नेपाली राजदूतावासको समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको थियो।

असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा पहिलोपटक सञ्चालन गरिएको उक्त शिविरबाट एक हजार दुई जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरमा सेवा लिनेमा ६४१ महिला र ३६१ पुरुष रहेका थिए। आँखा परीक्षणका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चश्मा तथा १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको थियो।

उनका अनुसार शिविरमा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ। उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको थियो। शिविरको शुभारम्भ राजदूत ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए।

प्रकाशित समय : ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु